बैंकिङ्ग समाचार, काठमाडौं ।
विज्ञहरुले ब्याजदर एकल विन्दुमा झार्न तत्काल सम्भव नहुने बताएका छन । नेपाल राष्ट्र बैंकका प्रवक्ता एवंम बैंक सुपरिवेक्षण विभागका प्रमुख डा. गुणाकार भट्टले बैंकिङ्ग समाचारसँग कुरा गर्दै वाणिज्य बैंकहरुले बढाएको ब्याजदर सामान्य अर्थतन्त्रको नियमअनुरुप नै बढाइएको बताउँदै कर्जाको ब्याजदर तत्कालै एकल विन्दुमा झार्न सम्भव नरहेको बताए । उनले भने, ‘अहिले वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर नै १२.१३ प्रतिशत छ त्यसमा ४ प्रतिशतको स्प्रेडदर जोड्दा न्युनतम १६ प्रतिशत हुने हुँदा कर्जाको ब्याजदर तत्कालको लागि एकल विन्दुमा झार्न सम्भव छैन ।’ तर यता चर्को ब्याजदरको मारमा परेका नीजी व्यवसायीले भने एकल विन्दुमा ब्याजदर नभएसम्म आफुहरुको आन्दोलन जारी रहेने बताइरहेका छन । उनीहरुले यतीबेला देशब्यापी रुपमा कर्जाको चर्को ब्याजदरविरुद्ध आन्दोलन चर्काइरहेका छन ।
बैंकिङ्ग समाचारले प्रस्तुत गर्ने बैंकिङ्ग बहस कार्यक्रममा बोल्दै व्यवसायी एवंम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कर्जाको ब्याजदर एकल विन्दुमा नआएसम्म आफुहरुले आन्दोलन गरिरहने जिकिर गरे । उनले भने, ‘बैंकहरुको चर्को ब्याजदरले गर्दा नेपालमा व्यवसाय सञ्चालन गर्न मुस्किल छ । हजारौंको संख्यामा रोजगारी गुम्दै छ । कतिले त आत्महत्या नै गर्नुपर्ने बाध्यता खडा भएको छ । यसले मुलुकको आर्थिक समृद्धिको यात्रालाई लगाम लगाउँछ ।’ बैंकहरुले ब्याजदर वृद्धि भएको भन्दै देशका विभिन्न स्थानबाट उद्योगी, व्यापारीहरुले सार्वजनिक रुपमा नै आन्दोलन गरिरहेका छन ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल अटोमोवाइल एसोसिएसन (नाडा), नेपाल होटल व्यवसायी संघ (हान)को सा व्यापारिक संस्थाहरुले बैंकहरुले ब्याजदर एकल विन्दुमा नझारे सम्म आन्दोलनलाई अझै संशक्त बनाउने चेतावनी दिइरहेका छन् । यता वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष एवंम कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले पनि बैंकको ब्याजदर अहिले तत्कालै एकल विन्दुमा झार्न असम्भव प्राय रहेको बताउँछन । उनी भन्छन, ‘उद्योगी व्यवसायीहरुले भने अनुसारको एकल विन्दुमा ब्याजदर कुनै पनि हालतमा हालको आर्थिक सूचाङ्कले देखाउँदैन, त्यसैले पनि ब्याजदर अहिले नै घट्ने अवस्था नै छैन ।’
तर यता नीजी क्षेत्रका व्यवसायीहरुले भने ब्याजदर वृद्धिकै बिषयलाई लिएर देशका प्रमुख शहरहरुमा बैंक बहिष्कार अभियान नै सञ्चालन गरिरहेका छन । नेपाल राष्ट्र बैकले हालैको दिनमा सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तिय स्थितिमा उपभोक्ता मुल्यको स्थिति (बजार मूल्य) ८.८ प्रतिशत रहेको अवस्थामा उद्योगी तथा व्यवसायीले भनेको जस्तो एकल विन्दुमा ब्याजदर नझर्नै जनाएका छन् । ब्याजदरकै बिषयमा नेपाल राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘हालको बजार मूल्य, आर्थिक परिसूचकमा राम्रो नभएको र साथै वित्तिय स्थायित्व, मुद्रास्फितिको दबाबलाई हेर्दा ब्यवसायीहरुले भने अनुसार कुनै हालतमा ब्याजदर एकल विन्दुमा झर्न सम्भव छैन ।’
नबिल बैंकका नायब प्रमुख कार्यकारी एवंम प्रष्ट वक्ता मनोज ज्ञवालीले पनि ब्याजदर एकल विन्दुमा झार्न तत्कालका लागि असम्भव रहेको बताए । उनले भने, ‘हाल बजारमा २५० अर्ब भन्दा बढिको तरलता अभाव सिर्जना भइरहेका बेला सस्तो ब्याजदरमा डिपोजिट उठाउन गाह्रो छ । त्यसैले महंगो पैसा बजारबाट ल्याएर सस्तोमा कर्जा प्रवाह गर्न असम्भव छ ।’ यद्यपी उनले यदी सरकारले नै सस्तो पैसामा डिपोजिटको व्यवस्था गर्यो भने भविष्यमा ब्याजदर एकल विन्दुमा झार्न सम्भव हुन्छ । हालैको वित्तिय अवस्थाको कारणले कुनैपनि हालतमा ब्याजदर एकल विन्दुमा घट्न सम्भव नभएको सरोकारवालाहरु बताउँछन । यद्यपी वाणिज्य बैंकहरुले पुस महिनामा अहिले भइरहेको ब्याजदर यथावत राख्ने र घटाउँदै लैजाने सहमति गरेका छन ।
प्रतिक्रिया