सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा विस्तार गर्न ६ करोड ९९ लाख अनुदान

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा विस्तार गर्न ६ करोड ९९ लाख अनुदान


 बैकिङ्ग समाचार । 

सगरमाथाको आधार शिविरसम्म द्रुत गतिको इन्टरनेट सेवा विस्तार हुने भएको छ।

नेपाल दुरसञ्चार प्राधिकरणले यो सेवा विस्तारका लागि एभरेष्ट लिंक प्रालीलाई छनौट गरेको छ। यसअघि नै सगरमाथा क्षेत्रमा इन्टरनेट तथा सञ्चारसम्बन्धि काम गर्दै आएको कम्पनीले फाइबरसहितको इन्टरनेट विस्तारको जिम्मा पाएको छ।

प्राधिकरणले ग्रामिण दुरसञ्चार कोषको रकमबाट यो परियोजना अघि बढाएको हो। गएको वैशाखमा सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने इच्छुक कम्पनीबाट प्रस्ताव आव्हान गरिकएको थियो।

यसमा सबैभन्दा न्यून लागतमा सेवा विस्तार गर्न एभरेष्ट लिंकले कबोल गरेकाले छनौट गरिएको प्राधिकरणले जानकारी दिएको छ।

कम्पनीले सम्झौता भएको ८ महिनाभित्र सेवा विस्तार गरिसक्ने प्रतिबद्धता गरेको छ। यो परियोजनाका लागि उसले ६ करोड ९९ लाख ९ हजार रुपैयाँ अनुदान पाउने छ।

नाम्चेदेखि आधार शिविरसम्म अप्टिकल फाइबर विस्तार गर्नुपर्ने छ। कम्पनीले एक प्रयोगकर्तालाई दिनमा आधा घण्टासम्म निशुल्क इन्टरनेट दिनुपर्ने व्यवस्था छ।

यसअघि चीनतर्फको आधार शिविरमा भने हुवावे र चाइना टेलिकमले फाइभजी  इन्टरनेट विस्तार गरिसकेका छन्।