सहयोगी विकास बैंकलाई गाभेर सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार

सहयोगी विकास बैंकलाई गाभेर सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार


सहयोगी विकास बैंकलाई गाभेर सिटिजन्स बैंकले सुरु गर्यो एकिकृत कारोबार
 बैकिङ्ग समाचार । 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट 'ख' वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी असार २० गते बाट एकिकृत कारोबार शुभारम्भ गरेको छ ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात बैंकले शनिबारदेखि एकिकृत कारोबार थालेको हो।

सिटिजन्स बैंक र साबिकको सहयोगीका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्सका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका थिए। अध्यक्ष भण्डारीले सहयोगी प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताउँदै मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सहयोगी विकास बैंकका अध्यक्ष उदय कान्त झाले सहयोगीका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंकमा झन् सुरक्षित र उज्वल हुने बताए।

सिटिजन्स बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने उल्लेख गरे ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गर्ने बताए।

बैंकको बढ्दो ब्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुनसक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी सम्भावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको बताए।

सहयोगी प्राप्तीपछि प्रदेश २ मा सशक्त 

सहयोगी विकास बैंक प्राप्तीसँगै सिटिजन्स बैंकको प्रदेश २ मा सशक्त उपस्थिति भएको छ। सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोगी विकास बैंक प्राप्ती पश्चात प्रदेश नं २ मा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका बताए ।

धनुषा, महोत्तरीमा ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको बैंकको शाखा संख्या १७ पुगेको छ। मुख्यत: प्रदेश नं २ मा सेवा दिँदै आएको साविकको सहयोगी विकास बैंकको १३ वटा शाखाहरु गरी यस प्रदेशमा बैंकले कुल २१ वटा शाखााहरुबाट सेवा प्रदान गर्नेछ । बैंकले करिव साढे पाँच लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दे आएकोमा अबबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ ।

असार १९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्सले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९१ अर्ब ३५ करोड, ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या १०९ पुगेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

विसं २०६४ बैशाख ७ गते देखि २० औं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्सले यस अगावै नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ।