एनआईसी एशिया बैंकको कर्जा योजना, ८.२५ % ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा 

एनआईसी एशिया बैंकको कर्जा योजना, ८.२५ % ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा 


बैकिङ्ग समाचार ।
एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जा योजना अन्तर्गत ८.२५ प्रतिशत ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा दिने भएको छ ।

बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको हो।

बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको छ ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहकले यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको लिन सकिने व्यवस्था गरेको छ।

यसैगरी सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत अधिकतम २ करोडकर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नुहुनेछ र यस्तो कर्जा सीमा अधिकतम १ करोडसम्म निर्धारण गरिएको छ । यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले यी तीन वटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको छ ।