दुई दिनमा १ सय ४८ अंक बढ्यो नेप्से

दुई दिनमा १ सय ४८ अंक बढ्यो नेप्से


बैकिङ्ग समाचार । 
दुई दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब डेढ सय अंक माथि उक्लिएको छ । मंगलबार करिब ७२ अंक बढेको बजारमा बुधबार ७५.७७ बिन्दुले उकालो लाग्यो । यससँगै समग्र नेप्से १ हजार ३ सय ३६.५२ बिन्दुमा उक्लिएको छ ।

दुवै दिन अन्तिम कारोबार समयअगावै नेप्से ६ प्रतिशत बढेपछि नेप्सेले कारोबार नै बन्द गरेको छ । करिब तीन महिनापछि खुलेको बजार पहिलो दिन करिब १३ अंक घटेको थियो । त्यसपछिका दुई दिनमा उच्च अंकले बढेको छ ।

बजारमा आपूर्तिको तुलनामा माग उच्च भएकाले परिसूचक उच्च अंकले बढेको विश्लेषकहरूले बताएका छन् । अहिले सूचीकृत कम्पनीहरूको पनि वित्तीय अवस्था राम्रो छैन । कोभिड–१९ को असर धेरै कम्पनीको वासलातमा देखिने निश्चितप्रायः छ । जसका कारण कम्पनीहरूले यो वर्ष आकर्षक लाभांश दिने सम्भावना कम छ । यसकारण बजारमा देखिएको उच्च अंकको वृद्धि लामो समयसम्म टिक्ने सम्भावना कम रहेको विज्ञहरूको भनाइ छ ।

बुधबार बजार खुलेदेखि नै लगातार बढ्न थालेपछि तीन पटकसम्म सर्किट ब्रेकर लागेको थियो । पहिलो पटक बजार खुलेको १३ मिनेटमा ४ प्रतिशत बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेट, त्यसपछि खुलेको बजारमा ३ मिनेटमै ५ प्रतिशत बढेपछि ४० मिनेट र त्यसपछि खुलेको बजार ६ प्रतिशत बढेपछि दिनभरका लागि नै कारोबार बन्द गरिएको थियो । 

१२ः२४ बजे नेप्से ६ प्रतिशत बढेको थियो । करिब ४ हजार कारोबारबाट १ सय ३५ कम्पनीका ११ लाख १ हजार कित्ता सेयर किनबेच भए । त्यसबाट ४० करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो । यससँगै कुल बजार पुँजीकरण १७ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ । 

सो दिन कारोबारमा आएका १२ उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से उच्च अंकले उकालो लागेको हो ।