नागरिक लगानी कोषको नाफा बढेपनि प्रतिशेयर आम्दानीमा गिरावट

नागरिक लगानी कोषको नाफा बढेपनि प्रतिशेयर आम्दानीमा गिरावट


बैकिङ्ग समाचार । 
नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत वर्षको तुलनामा नाफा सामान्य बढेपनि प्रतिशेयर आम्दानीमा गिरावट आएको अपरिष्कृत विवरण सार्वजनिक गरेको छ।

कम्पनीको नाफा अघिल्लो वर्षको चैतको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म १२.३४ प्रतिशतले बढेको छ । यस अवधिमा प्रतिशेयर आम्दानी भने ४ रुपैयाँले घटेर प्रतिकित्ता ३१ रुपैयाँ कायम भएको छ। 

बोनस मार्फत पूँजी बढाएको कोषको पूँजी वृद्धिको तुलनामा मुनाफा वृद्धिको प्रतिशत न्यून हुँदा प्रतिशेयर आम्दानीमा ह्रास आएको हो। कोषको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ पुगेको छ।

कोषले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्ष कोषको नाफा ३३ करोड ७७ लाख थियो।
कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ। कोषको विभिन्न कोषमा गरेर खुद मौज्दात एक खर्ब ४३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ छ।

जसमध्ये एक खर्ब ४२ अर्ब २५ करोड ८ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। जसबाट ९।३३ प्रतिशत लगानीबाट प्रतिफल प्राप्त गरेको छ।
कम्पनीले ५ करोड ७८ लाख ब्याज आम्दानी, ६१ करोड ६२ लाख सेवा तथा कमिसन आम्दानी, ३ करोड २९ लाख लाभांस आम्दानी गरेको छ। यसअवधिमा कोषले ७० करोड ८५ लाख आम्दानी गरेको छ।

कोषले विभिन्न सूचीकृत संगठीत संस्थाको शेयरमा १० अर्ब १९ करोड, सरकारी ऋणपत्रमा ६० करोड, मुद्धति निक्षेपमा ८५ अर्ब १४ करोड, समयकालिन कर्जा १७ अर्ब ८५ करोड लगानी गरेको छ । जसको बैंक मौज्जातमा ८७ करोड १५ लाख रुपैयाँ छ।

नागरिक लगानी कोषले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। कोषको नेतृत्वमा हालै नागरिक स्टक डिलर कम्पनी स्थापना भएको छ । उक्त कम्पनीले आगामी साउनदेखि शेयर बजारमा लगानीगर्ने योजना बनाएको छ।