सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ


बैकिङ्ग समाचार ।  
सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ।

एक करोड २५ लाख रूपैयाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार प्रबन्धक शाहीलाई अनुसन्धानका लागि शुक्रबार नै जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ।

जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्शा, कर तिरेको रसिद, मालपोत कार्यालय र  नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेर बैंकबाट ऋण लिएको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ निवासी सुनचाँदी व्यवसायी जसगढ जेठ २७ गते नै पक्राउ परेका थिए।

प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रबन्धक शाहीलाई पक्राउ गरेको हो।

बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए। 

२५ लाख रूपैयाँभन्दा बढीको ऋण स्वीकृत गर्दा केन्द्रको अनुमति चाहिने प्रावधान रहेकाले नक्कली कागजपत्रकै आधारमा एक करोड २५ लाख रूपैयाँ ऋण प्रवाहमा बैंकका माथिल्लो तहका कर्मचारीको पनि संलग्नता भएको प्रहरीको अनुमान छ।

सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि बैंकिङ कसूरको अनुसन्धान गरिने प्रहरीले जनाएको छ। 
रासस