सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने, छिट्टै एकिकृत कारोबार थाल्ने

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने, छिट्टै एकिकृत कारोबार थाल्ने


बैकिङ्ग समाचार ।  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको छ।

नेपाल राष्ट्र बैंकको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ बमोजिम अन्तिम स्वीकृति दिएको हो।

दुई बैंक १०० बराबर ९१.७५ शेयर स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्झौतामा गएका हुन्। जसअनुसार सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता शेयर पाउनेछन्।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अब जतिसक्दो चाँडो एकिकृत कारोबार थाल्ने जानकारी दिए।

सहयोगीलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ हुनेछ । यस्तै निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने कर्जा लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि बैंकको कुल शाखा ९९ पुग्नेछ ।

२०७६ असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका दुई बैंकबीच २०७६ पुस २८ गते सोमबार सिटिजन्सको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगीको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोेजक डिल्लीप्रकाश घिमिरे बीच मर्जरका लागि अन्तिम सम्झौता भएको थियो।

यसअघि सिटिजन्स बैंकले जेठ २७ गते पाँचौं विशेष साधारण सभाबाट र सहयोगी विकास बैंकले जेठ २४ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।