अन्ततः मेगाले पायो गण्डकी विकास बैंक, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अन्ततः मेगाले पायो गण्डकी विकास बैंक, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति


बैकिङ्ग समाचार ।   

मेगा बैंकले राष्ट्रिय स्तरको गण्डकी विकास बैंकलाई खरिद गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । बुधबार राष्ट्र बैंकबाट अन्तिम स्वीकृति भएको  हो।

मेगाले गण्डकीलाई प्राप्ति गर्ने सम्बन्धि सम्झौतामा पत्रमा गत असोजमा सैद्धान्तिक सहमति गरेको थियो । मेगा बैंकले एक बराबर एक शेयर स्वाप अनुपातमा गण्डकीलाई खरिद गरेको हो।

सम्झौता अनुसार मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ भने बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंकको नै रहनेछन् ।

हाल मेगाको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ । यस्तै गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड छ। मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ।

मेगा बैंक र गण्डकी विकास बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्तीको विशेष प्रस्ताव पारित गरेको थियो।

चालू आवको तेस्रो त्रैमाससम्म मेगाले १ अर्ब ४५ करोड १० लाख ९० हजार र गण्डकीले ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार र गण्डकीको ३ करोड २८ लाख ३२ हजार रहेको छ ।

मेगाको प्रतिशेयर आम्दानी १८.८३ र गण्डकीको १७.९२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ क्रमश: १३२.१९ र १४२.०७ रुपैयाँ छ ।