कुमारी बैंक र देव: विकास बैंकले पनि राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति

कुमारी बैंक र देव: विकास बैंकले पनि राष्ट्र बैंकबाट पाए मर्जरको अन्तिम स्वीकृति


बैकिङ्ग समाचार ।  
नेपाल राष्ट्र बैंकको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले कुमारी बैंकले देव: विकास बैंकलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले दुई बैंकबीच बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ बमोजिम  अन्तिम स्वीकृति दिएको हो।

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देव: विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।

दुई बैंकबीच गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली–२०७३ बमोजिम २०७६ माघ १ गते काठमाडौं मेरिओट होटेलमा सम्पन्न एक समारोहबीच प्राप्तिको औपचारिक हस्ताक्षर सम्पन्न भएको थियो । समझदारीपत्रमा कुमारी बैंक लिमिटेड र देवः विकास बैंकका तर्फबाट सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय कृष्णप्रसाद ज्ञवाली र भरतबहादुर हमालले हस्ताक्षर गरेका थिए ।

दुई बैंक १०० बराबर ८६ शेयर स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्झौतामा गएका हुन्। जसअनुसार देव: विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर कुमारी बैंकको ८६ कित्ता शेयर पाउनेछन्।

कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ४१ लख रूपैयाँ छ भने देव:को ३ अर्ब ४४ करोड ८७ लाख रूपैयाँ छ। मर्जरपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी पुग्नेछ । त्यस्तै निक्षेप १ खर्ब २० अर्ब तथा ऋण लगानी १ खर्ब ५ अर्बभन्दा बढी हुने भएको छ । यसैगरी, बैंकको शाखा सञ्जाल २०९ पुग्नेछ ।

यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको कुमारी बैंकले मर्जर हुँदै अगाडि बढेको देव विकास बैंकलाई प्राप्ति गर्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय विग मर्जरमा जोड दिइरहेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्तीमा जान चाहने बैंकलाई विभिन्न सुविधा समेत दिँदै आएको छ।