शेयर धितो मूल्याङ्कनको सीमा ७५ प्रतिशत पुर्याउन तयार छौं: बैंकर्स संघ

शेयर धितो मूल्याङ्कनको सीमा ७५ प्रतिशत पुर्याउन तयार छौं: बैंकर्स संघ


बैकिङ्ग समाचार ।  
शेयर लगानीकर्ताहरुले शेयर धितो मूल्याङ्नको सीमा ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनुपर्ने माग गरिरहँदा बैंकरहरु लगानीकर्ताको यस मागप्रति सकारात्मक देखिएका छन्।

नेपाल बैंकर्स संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले राष्ट्र बैंकले निर्देशन दिएमा शेयर धितो मूल्याङ्नको सीमा बढाउन बैंकहरु तयार रहेको बताए।  उनले भने "हामीलाई शेयर धितो कर्जा प्रवाहमा कुनै समस्या छैन्, राष्ट्र बैंकले जे निर्देशन गर्छ सोही अनुसार गर्न तयार छौं।" 

अहिले बैंकहरुले मार्जिन प्रकृतिको कर्जाको धितो बापत शेयर मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको औषत मूल्याङ्कनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गरेका छन् भने शेयरको मूल्यमा हुने परिवर्तनका आधारमा अनुगमन गरी थप धितोका लागि ऋणीलाई सूचीत गर्दै आएका छन् ।

मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुने हकप्रद र लाभांश शेयर सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर संख्यामा गणना गर्न सकिने विद्यमान व्यवस्था छ।

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकहरुले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ। कोरोनाका कारण अर्थतन्त्रमा आएको संकुचन र लामो समय बन्द भएको शेयर बजार खुलेपछि ओरालो लाग्छ कि भन्ने त्रासमा लगानीकर्ता रहेका छन् । उनीहरुले बजार खुल्नासाथ बैंकहरुबाट मार्जिन कल नआओस् भन्नका लागि पनि धितो मूल्याङ्कनको सीमा बढाउन आग्रह गरेका हुन्।

धितोपत्र बोर्डले पनि शेयर लगानीकर्ताहरुको आग्रह अनुसार शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्याङ्कनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ।

यस्तै धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको व्याजदर बैंक स्वयंले प्रत्यक्ष शेयर धितोमा प्रवाह गर्ने कर्जाको व्याजदर भन्दा कम हुने व्यवस्था गर्न पनि सुझाएको छ।

बोर्डले विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न गरेको आग्रह राष्ट्र बैंकले सम्बोधन गरिसकेको भएपनि शेयर धितो कर्जा र मार्जिन कारोबारको विषयमा भने मौद्रिक नीति मार्फत मात्रै सम्बोधन गर्ने देखिन्छ।

गत सोमबार शेयर लगानीकर्ता दबाब समूहसँगको भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना संक्रमण र लकडाउनका कारणले पूँजी बजारमा उत्पन्न समस्या समाधानका लागि गम्भीरता पुर्वक गृहकार्य भईरहेको र बजारलाई राहत पुग्नेगरी आवश्यक कदम चालिने जानकारी गराएका थिए।

गभर्नर अधिकारीले लगानीकर्ताको आत्मबल बढाउने र बजारलाई विश्वासमा लिने गरि राष्ट्र बैंकले तत्कालै केही काम गर्ने र धेरै कुरा मौद्रिक नीतिमा समावेश गरी ल्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

मौद्रिक नीतिको तर्जुमामा जुटेको राष्ट्र बैंक एक उच्च अधिकारीले भने यस विषयमा हतारमा निर्णय गर्न नसकिने बताए। मौद्रिक नीतिको तयारी हुँदैछ। यो विषयलाई बोर्ड र गभर्नरले पनि हेर्नुहोला तत्कालै राहत मिलेजस्तो भएपनि भविष्यमा पर्ने प्रभावका विषयमा पनि आंकलन गर्न जरुरी रहेको उनले बताए।

धितो मूल्याङ्कको सीमा बढाउँदा बुल मार्केटमा राम्रै होला तर भोलि ब्रस्ट भयो भने यसको जिम्मेवारी कसले लिन्छ ? ति अधिकारीले भने। बजारलाई सुरक्षित बनाउनुपर्छ, राष्ट्र बैंकको नीतिले बजारमा बुलिस र वियरिसको अवस्था आउन दिनुहुँदैन, उनले भने।

शेयर लगानीकर्ताले मार्जिन कर्जाको सीमा बढाउने, कर्जाको ब्याज पूँजीकरण गर्ने वा तिर्ने समय सार्ने, शेयर कारोबारको विद्युतीय माध्यमबाट रकम हस्तान्तरणकोे सीमा बढाउने र मार्जिन कारोबारलाई सहजीकरण गर्न गभर्नर समक्ष आग्रह गरेका छन्। यीमध्ये लगानीकर्ताले उठाएका मार्जिन ल्याडिङ्गको सीमा बाहेकका अन्य मागहरुमा सम्बोधन गर्न भने केन्द्रीय बैंक सकारात्मक देखिएको छ।