महाराष्ट्रले ३ चिनियाँ कम्पनीको ५ हजार करोड भारूको लगानी रोक्‍यो

महाराष्ट्रले ३ चिनियाँ कम्पनीको ५ हजार करोड भारूको लगानी रोक्‍यो


एजेन्सी ।
भारतको महाराष्ट्र राज्य सरकारले चिनियाँ कम्पनीसँग संझौता गरेका ५ हजार करोड भारूका तीन चिनियाँ परियोजना रोकेको छ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार उसले चिनियाँ कम्पनीसँग यी सम्झौता हालै लगानीकर्ताहरूसँग गरेको 'म्यागनेटिक महाराष्ट्र २.०' सम्मेलनमा गरेको थियो।

'यो निर्णय केन्द्रीय सरकारसँगको सल्लाहमा गरिएको हो। यो सम्झौता सीमाक्षेत्रमा चिनियाँ सैनिकबाट २० भारतीय सैनिक मारिनु अघि गरिएको थियो। विदेश मन्त्रालयले चिनियाँ कम्पनीहरूसँग कुनै पनि सम्झौता नगर्न सुझाव दिएको छ', महाराष्ट्रका उद्योगमन्त्री सुभास देसाईले भने।

यसै महिना चीनसँगको सीमाक्षेत्रमा भएको सैन्य झडपमा भारतका २० सैनिकको मृत्यु भएको थियो। महाराष्ट्र सरकारको पछिल्लो निर्णय यसै घटनालाई मध्यनजर गर्दै आएको ठानिएको छ।

गत महिना भएको अनलाइन सम्मेलनमा भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले सहभागिता जनाएका थिए।

यसरी रोकिएका परियोजनामध्ये पुणे नजिकै तेलेगावमा ३ हजार ७ सय ७० करोड भारूको लगानीमा बन्ने गेर्टवाल मोटर्सको अटोमोबाइल प्लान्ट स्थापना रहेको छ।

यसैगरी फिएमआई एलेक्ट्रो मोबिलिटी र चिनियाँ कम्पनी फोटोनले गर्ने एक हजार करोड भारूको परियोजना रहेको छ। यस परियोजनाले १५ सय मानिसलाई रोजगारी प्रदान गर्ने बताइएको थियो।

यसैगरी चिनियाँ कम्पनी हेङ्ली इन्जिनियरिङले २ सय ५० करोड भारू थप लगानी विस्तारगर्ने जनाएको थियो।

'म्यागनेटिक महाराष्ट्र २.०' कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई बढाउन महाराष्ट्र सरकारले सुरू गरेको एउटा प्रयास थियो।

यस अन्तरगत महाराष्ट्र सरकारले भारतीय कम्पनीका अलावा चीन, दक्षिण कोरिया, सिङ्गापुर तथा अमेरिकका कम्पनीहरुसँग १२ वटा विभिन्न सम्झौता गरेको थियो।

महाराष्ट्र सरकारले अन्य ९ सम्झौताला भने प्रक्रियामा लगेको जनाएको छ।

यसै वर्षको जनवरीमा ग्रेटवाल मोटर्सले अमेरिकी कम्पनी जनरल मोटर्सको तेलगाँवमा रहेको प्लान्ट खरिद गर्ने सम्झौता गरेको थियो। ग्रेटवाल यस प्लान्टबाट विद्युतिय र एसयुभी गाडी उत्पादन गर्ने योजनामा थियो।

कम्पनीले विभिन्न चरणमा गरेर ७ हजार ६ सय करोड भारू लगानी गर्ने बताएको थियो। यसबाट करिब ३ हजार रोजगारी श्रृजना हुने उसको भनाइ थियो।