कोरोनाभाइरसको परीक्षण सुस्त बनाउन भनेको छु: ट्रम्प

कोरोनाभाइरसको परीक्षण सुस्त बनाउन भनेको छु: ट्रम्प


एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा धेरै संक्रमित देखिएकाले आफूले कोरोनाभाइरसको परीक्षण सुस्त बनाउन भनेको बताएका छन्।

शनिबार ओक्लाहोमाको तुल्सामा शनिबार  हजारौं समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले कोरोनाभाइरसको परीक्षण दुई धारको तरबार भएको बताए।

एकातिर धेरै परीक्षण गरे धेरै खर्च हुने र अर्कोतिर धेरै परीक्षण गर्दा धेरै संक्रमित भेटिने भएकाले परीक्षणको दायरा कम गर्नुपर्ने ट्रम्पको भनाइ छ। उनले अहिलेसम्म अमेरिकामा दुई करोड ५० लाख मानिसको कोरोना परीक्षण भइसकेको जानकारी दिए। जुन संसारका कुनै पनि राष्ट्रको भन्दा बढी भएको ट्रम्पको दाबी छ।

'यदि तपाईंले त्यस हदसम्म परीक्षण गर्नुहुन्छ भने धेरै संक्रमित फेला पर्छन्। त्यसैले अधिकारीहरूलाई कृपया विस्तारै परीक्षण गर्नुहोस भनेको छु,'उनले भने।  ट्रम्पको र्‍यालीमा सहभागी भएका धेरैजसो समर्थकले मास्कसमेत लगाएका थिएनन्।

ह्वाइट हाउसले भने ट्रम्पले उक्त र्‍यालीमा मजाक गरेर परीक्षण सुस्त गर्नु भनेको स्पष्टिकरण दिएको छ।

'साँच्चै उनी जिस्किएका थिए। विश्वमा कोरोनाभाइरसको परीक्षणमा हाम्रो मुलुक सबैभन्दा पहिलो स्थानमा छ। हामीले दुई करोड ५० लाख जनाको परीक्षण गरिसकेका छौं,' ह्वाइट हाउसका एक अधिकारीले भने।

ट्रम्पले चीन र युरोपबाट उडान रोकेर 'हजारौं'को ज्यान बचाएको दाबी गरे। तर आफ्नो उक्त कदमको  मिडियाले प्रशंसा नगरेको उनले गुनासो पोखे।

पछिल्लो समय अमेरिकाका दक्षिणी र पश्चिमी राज्यहरूमा कोरोनाभाइरस संक्रमित बढिरहेका छन्।

अमेरिकामा अहिलेसम्म त्यहाँ कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २१ हजार पुगिसकेको छ। संक्रमितमात्रै २३ लाख ३० हजार छन्।

सम्बोधनका क्रममा ट्रम्पले कोरोनाभाइरसलाई 'कुङ्ग फ्लु' र 'चाइनिज भाइरस' समेत बताएका थिए।