बैंकिङ्ग समाचार, काठमाडौं ।
धितोपत्र बोर्डले (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०७९ को संशोधन गरेसँगै नयाँ ब्रोकर कम्पनी स्थापना र लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढेको छ । यसअघि सरकारले उक्त नियमावलीको चौथो संशोधन गर्दै तीन वर्ष ब्रोकर कम्पनी नखोल्ने व्यवस्था गरेको थियो । तर एक साताभित्रै अर्को संशोधनले नयाँ ब्रोकर खोल्न बाटो खुल्ला गरेको हो ।
नियमावलीको चौथौ संशोधनमा ‘यो नियमावली प्रारम्भ भएको ३ वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्नेछ’ भन्ने व्यवस्था गरेको थियो ।
लगत्तै पाँचौ संशोधन गरेर ‘यो नियमावली प्रारम्भ भएपछि पहिलो पटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक तीन वर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।
यो सँगै अब एक पटक योग्यता पुगेका ब्रोकरले नयाँ लाइसेन्स पाउनेछन् । त्यसपछि भने तीन–तीन वर्षमा मात्रै नयाँ ब्रोकर थपिने बताइएको छ । अब खोलिने नयाँ ब्रोकर कम्पनीहरुको लागि चुक्ता पुँजी ३ वटा तहमा भाग लगाइएको छ । जसमा सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलाल सेवा दिने ब्रोकरका लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने नियमावलीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया