आरम्भ र चौतारी लघुवित्त गाभिएः  असार २२ गतेबाट कारोबार थाल्ने

आरम्भ र चौतारी लघुवित्त गाभिएः  असार २२ गतेबाट कारोबार थाल्ने


बैकिङ्ग समाचार ।

आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको आरम्भ चौतारी लघुवित्तीय संस्थाले असार २२ गतेबाट एकिकृत कारोबार थाल्ने भएको छ ।

गत पुस ९ गते एकैदिन सम्पन्न दुवै कम्पनीको साधारण सभाले मर्जर प्रस्ताव पारित गराएका थिए। 

बुटवललाई केन्द्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको चौतारी र बनेपालाई केन्द्र बनाएर वित्तीय कारोवार गर्दै आएको आरम्भ १ बराबर १ शेयर श्वाप रेशियोमा मर्ज भएका हुन्। मर्ज पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड ३४ लाख नाघेको छ।

मर्जर पश्चात बनेको संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ। एकीकृत लघुवित्तको शेयर स्वामित्व संस्थापकको ६३.६६ र सर्वसाधारणको ३६.३४ प्रतिशत कायम भएको छ । साथै संस्थाले कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरमा जाने भएको छ । एकिकृत संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा रहनेछ।

नेपाल राष्ट्र बैंकले चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ लघुवित्त वित्तीय संस्थालाई एकापसमा गाभिनका लागि फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो।

नेपाल स्टक एक्सचेञ्जमा आरम्भको कूल ६ लाख ४४ हजार २८० कित्ता शेयर सूचीकृत छ । यस्तै चौतारी लघुवित्तको कूल १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।