नेपालको आर्थिक वृद्धिदर २.३ % कायम हुने 

नेपालको आर्थिक वृद्धिदर २.३ % कायम हुने 


बैकिङ्ग समाचार ।  

एशियाली विकास बैंक (एडीबी) ले यसअघिको अनुमानलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा सरकारले अनुमान गरे बमोजिमकै आर्थिक वृद्धि हासिल हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ।

एडिबीले एशियन डेभलपमेन्ट आउटलुक (एडिओ) प्रतिवेदन सार्वजनिक गर्दै चालू वर्षमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण सार्वजनिक गरेको हो। नेपाल सरकारले पनि चालु आर्थिक वर्षमा २.३ प्रतिशत नै आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ।

यता केहि दिन अघि विश्व बैंकले भने यो वर्ष नेपालको आर्थिक वृद्धि १.८ प्रतिशतमा सीमित हुने आँकलन सार्वजनिक गरेको थियो । यस्तै एडीबीले आगामी आवको नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले भने २०२१ मा नेपालको आर्थिक वृद्धिदरमा सामान्य सुधार आई २.१ मा पुग्ने अनुमान गरेको छ।

कोभिड–१९ ले निर्माण, यातायात, पर्यटन, थोक तथा खुद्रा व्यापार र विप्रेषणलाई असर पार्दा चालू आवमा नेपालको आर्थिक वृद्धि दर सरकारी अनुमान सरह २.३ प्रतिशतमा रहने एडीबीको भनाई छ। तर, बन्दाबन्दी लम्बिएमा आर्थिक वृद्धि झनै खुम्चने एडीबीले उल्लेख गरेको छ।

एडीबीले चालू आवमा नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतले विस्तार हुने शुरुआती आँकलन गरेको थियो । तर विश्व व्यापी रुपमा फैलिएको कोभिडको प्रभावले विश्भरकै आर्थिक वृद्धि खुम्चिने भएपछि संशोधन गरिएको हो।

एडीबीले एशियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमा सीमित हुने प्रक्षेषण गरेको छ। जुन ६० वर्षयताकै न्यून प्रक्षेपण हो। कोभिड–१९का कारण आर्थिक गतिविधि प्रभावित भएकाले वृद्धिदर ०.१ प्रतिशतमा सीमित हुने बैंकको भनाई छ।

एडिबीले यो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धि ३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ । अघिल्लो प्रक्षेपणमा एडिबीले दक्षिण एशियाको आर्थिक वृद्धिदर यो वर्ष ४ प्रतिशत हुने र नेपालकोे ५ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।