नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा आयो २ अर्ब २ करोड

नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा आयो २ अर्ब २ करोड


बैकिङ्ग समाचार ।  

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालियन निर्माण कम्पनी कोअपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सिएमसी)सँगको मुद्दा जितेपछिको रकम बैंकमा आइपुगेको छ । २ अर्ब २ करोड रुपैयाँ दुई किस्ता गरेर आजसम्म बैंकमा आइपुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले जानकारी दिए ।

बैंकमा मंगलबार ८.७५ मिलियन युरो र बिहीबार ८५ करोड रुपैयाँ बैंकको खातामा आएको बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए । 

तनहुँ हाइड्रोपावरको ठेक्का पाएको सिएमसीका तर्फबाट ग्यारेन्टी बसेको इटालीको इन्टेसा सानपाओलो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकले काउन्टर ग्यारेन्टी बापत उक्त रकम राखेको थियो ।  यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको उक्त रकम इन्भेष्टमेन्टको खातामा आएको छ । 

करिब १५ महिनापछि इटालीको इन्टेसा सानपाओलाबाट फिर्ता आएको र यो नेपाली वित्तीय क्षेत्रकै ठूलो जित भएको पाण्डेले बताए । इटालीको बैंकको तर्फबाट इन्भेष्टमेन्ट बैंकले ८५ करोड १४ लाख १६ हजार १ सय २७ र १ अर्ब १७ करोड रुपैयाँ बराबरको युरो काउन्टर ग्यारेन्टी राखेको थियो ।