नेप्सेलाई बोर्डको निर्देशनः शेयर बजारलाई पूर्ण रुपमा चलायमान बनाऊ

नेप्सेलाई बोर्डको निर्देशनः शेयर बजारलाई पूर्ण रुपमा चलायमान बनाऊ


बैकिङ्ग समाचार ।
नेपाल धितोपत्र बोर्डले शेयर बजारलाई पूर्ण स्व:चालित बनाउन बजार सञ्चालक नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई निर्देशन दिएको छ ।

बोर्डले धितोपत्रको दोस्रो बजारको कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा प्रणालीमा सुधार गरि बैंक खाता तथा डिम्याट खाता आबद्ध गरी स्वचालित रुपमा नै धितोपत्र कारोबार तथा राफसाफ हुने व्यवस्था मिलाउन भनेको हो।

लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा।खर्च हुने व्यवस्था गर्न तथा स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

यसैगरि बोर्डले २०७७ श्रावण १ गतेदेखि धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था मिलाउन भनिएको छ। सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउन भनेको छ।

हाललाई धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने नीति लिएको बोर्डले साउन १ गतेदेखि अनिवार्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो।

नेप्से अनलाईन कारोबार प्रणाली (नट्स) मा बैंक खाता तथा डिम्याट खाता आवद्ध हुन नसक्दा स्वचालित कारोबार तथा राफसाफ कार्य हुन नसकेको लगानीकर्ताहरुले गुनासाहरु गर्दै आइरहेका थिए। बोर्डको निर्देशनसँगै लगानीकर्ताले उठाउँदै आएका बैंक इन्ट्रिगेशनको काम सम्पन्न हुने भएको हो।