ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने

ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने


एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन्।

ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताएका हुन्।

तर, ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ। किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरे।

‘हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु – र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ’, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भनेका छन्।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताउनुभयो। साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ। दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गरेको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएका बताइएको छ।