काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले प्रशोचन गरिरहेको छ । यसैक्रममा केन्द्रीय बैंकले माघ महिनामा मात्र निक्षेप संकलन उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट ९ पटक गरी ४ खर्ब २५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ ।लगानीयोग्य रकम थुप्रिएर कर्जा प्रवाह हुन नसकेपछि राष्ट्र बैंकले साउन महिनामा पटक–पटक गरी सो रकम तानेको हो ।
केन्द्रीय बैंकले माघ २ गते ४० अर्ब रुपैयाँ, ६ गते ६० अर्ब रुपैयाँ, ९ गते ९० अर्ब रुपैयाँ, १३ गते ४० अर्ब रुपैयाँ, १५ गते ३० अर्ब रुपैयाँ, २० गते ४० अर्ब रुपैयाँ, २३ गते ३५ अर्ब रुपैयाँ, २७ गते ३० अर्ब रुपैयाँ, ३० गते ६० अर्ब रुपैयाँ तरलता प्रशाेचन गरेकाे थियाे ।
राष्ट्र बैंकले निक्षेप संकलनको ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत तोकेको छ । राष्ट्र बैंककाअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप ६७ खर्ब २९ अर्ब र कुल कर्जा लगानी ५४ खर्ब ३७ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार हाल अन्तर बैंक ब्याजदर न्यूनतम ३ प्रतिशत कायम भएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकहरूले ७८.७८ प्रतिशत सीडी रेसियो कायम गरेका छन् ।
बैंकिङ्ग प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस हुने गर्छ । सोही सकसलाई न्यूनीकरण गर्नकै लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणहरुको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्ने गर्छ । अहिले हरेक हप्ताको आइतबार, बुधबार र बिहीबार गरी ३ दिन बैंकहरुले निक्षेप राष्ट्र बैंकमा जम्मा गर्न पाउने सुविधा दिएको छ । बैंकहरुले स्थायी निक्षेप सुविधाको उपयोग गरिसकेपछि पनि बजारमा अधिक तरलता भएको खण्डमा राष्ट्र बैंकले निक्षेप संकलन औजार प्रयोग गरी आफै निक्षेप प्रशोचन गर्दै आएको छ ।
निक्षेप संकलन बोलकबोल
बैंकिङ्ग क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक महत्वपूर्ण उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण गरी बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप तान्ने गर्ने गर्दछ जसबाट वित्तीय प्रणालीमा रहेको अधिक तरलता प्रशोचन हुन जान्छ ।
प्रतिक्रिया