वासिङ्टन – राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन्। यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो । एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए ।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए। यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गरेका थिए । अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छ्न् ।
रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए । ‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ’, ट्रम्पले भने । उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए । राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् ।
क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोके । तर, चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ ।
गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ ।
प्रतिक्रिया