काठमाडौं – लघुवित्तबाट सुरु भएको कर्मचारीमाथि आक्रमण र आक्रमणको प्रयास बैंकसम्म सरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लघुवित्त र सहकारीका कर्मचारीलाई कालोमोसो दल्न आह्वान गरेको वर्ष दिनभन्दा बढी भइसकेको भएपनि बैंक तथा वित्तीय संस्थामाथि विभिन्न तवरबाट आक्रमण हुने क्रम झनै बढेको देखिन्छ ।
यससँगै, बैंक तथा वित्तीय संस्थाका कर्मचारी (बैंकर) ‘फिल्ड’ जानै डराउन थालेका छन् । पछिल्ला महिना यता कर्मचारी र बैंक शाखामाथि नै आक्रमणका घटना बढेपछि बैंकरमाथि झनै तनाव थपिएको छ । पहिलादेखि नै बैंकरहरुमाथि कर्जा नबढेको, लगानी नउठेको लगायतका तनाव छन् ।
यसअघि, लघुवित्त र स्थानीय सहकारीका कर्मचारीमाथि मात्रै आक्रमण, कालोमोसो दल्ने प्रवृत्ति थियो । तर, यो रोग अब वाणिज्य बैंकमा नै सर्न थालेको छ । पछिल्ला केही महिनायता सतहमा आएका तीन घटनाले नै यसलाई पुष्टि गर्छ । दुई महिनायता मात्रै कृषि विकास बैंक र सिद्धार्थ बैंकका कर्मचारीलाई ऋणीहरूले थुनेर शाखा कार्यालयमा नै तालाबन्दी गरेका थिए।
यस्तै, केही महिना अघि एनआईसी एशिया बैंकका कर्मचारीलाई पेट्रोल खन्याएर हत्याएको प्रयास भएको थियो । यी, उदाहरण र सतहमा आएका उदाहरणरूपी घटना हुन् । यीनै घटनाले यतिबेला बैंकर्सहरु फिल्डमा जानै डराउन थालेका छन् । ऋण उठाउने लक्ष्यसहित जाँदा ऋणीको उल्टै आक्रमणमा पर्न थालेपछि बैंकरहरु ‘फिल्ड’ जानै डराउन थालेका हुन् ।
के भइरहेको छ ?
यही वर्ष २०८१ सालको पुस ११ गते कृषि विकास बैंकका लहान शाखामा अनौठो घटना घट्यो । स्थानीयवासी बैंकविरुद्ध आन्दोलित बने र लहान शाखामा तालाबन्दीसँगै ढुंगामुढा भयो । स्थानीयले सबै कर्मचारीलाई कार्यालय भित्रै थुनेर घण्टौँसम्म शाखामा तालाबन्दी गरे । समय–समयमा बैंक तथा बैंकका कर्मचारीमाथि आक्रमण हुने गरेपनि स्थानीयवासी मिलेर गरेको यो घटना नौलो र अनौठो थियो ।
यस्तै, सो घटना सेलाउन नपाउँदै सिद्धार्थ बैंकको जनकपुर शाखामा यस्तै प्रकृतिको घटना बाहिरियो । सो कार्यालयले ऋणीले धितोमा राखेको घरजग्गा लिलामीको प्रक्रिया अघि बढाएको भन्दै ऋणीहरू बैंकविरुद्ध उर्लिएका थिए । बैंकको सो शाखाले कर्जा असुली प्रक्रियामा अनियमितता गरेको आन्दोलित ऋणीहरू आरोप थियो ।
त्यसको केही महिना अघि मात्रै रौतहटमा बैंकका कर्मचारी माथि पेट्रोल खन्याइयो र जलाउने प्रयास गरियो । आन्दोलनकारीको त्यो प्रयास असफल बने पनि बैंकका डरलाग्दो घटनाकारुपमा कर्मचारीहरूको मानसपटलमा अझै ताजै छ । एनआईसी बैंकको रौतहट शाखाका कर्मचारीमाथि ज्यानै लिनेगरी सो प्रयास भएको थियो । ऋणीहरूले महागढीमाई शाखाका प्रमुख विकास श्रेष्ठ र कर्मचारी जयदीप कुशवाहामाथि सो हमला गरेका थिए ।
यस प्रकारका घटना पछिल्लो समय देशैभरीबाट आउन थालेका छन् । कोरोना महामारीको निहुँमा ऋणीहरूले बैंक तथा वित्तीय संस्था र ती संस्थाका कर्मचारीमाथि निरन्तर हमला गर्दै आइरहेका छन् । लिइएको ऋण महामारीयता आर्थिक आम्दानी तलमाथि हुँदा ऋणीहरूले बैंकका कर्मचारीमाथि हमला गर्न थालेका हुन् । कतिपय ऋणीले भने ऋण नर्तिन पर्ने भ्रमका कारण कर्मचारीमाथि आक्रमण गरिरहेका छन् ।
जे भइरहेको छ, गलत भइरहेको छ – केन्द्रीय बैंक
बैंक तथा वित्तीय संस्थालाई केन्द्रमा राखेर भइरहेको हमलामाथि केन्द्रीय बैंकले भने चिन्ता व्यक्त गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकको लहान शाखासहित अन्य बैंकका विभिन्न कार्यालय र कर्मचारीमाथि भएको हमलाबारे राष्ट्र बैंक जानकार रहेको बताए । ‘यी घटनाबाट घटनामा राष्ट्र बैंक संवेदनशील बनेको छ । अराजकताकाबीच कतिपय कर्मचारीले गाली लाठी खाएर पनि आफ्नो कर्तव्य निर्वाह गरिराख्नु भएको छ,’ उनले भने, ‘त्यसका लागि राष्ट्र बैंक आभार व्यक्त गर्छ ।’
यता, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला ऋण ‘रिकभरि’का लागि कर्मचारी फिल्डमा जाँदा हमला बढेको स्विकार्छन्। र, यस्ता घटनाहरू पछिल्ला दिनमा बढ्दो अवस्थामा रहेको उनको भनाइ छ । ‘हाल रिकभरिमा निकै समस्या छ । कर्मचारी साथीहरुलाई विभिन्न खालका हमलाहरु हुने गरेका छन्,’ उनले भने, ‘कर्मचारीमाथि हुने हमलालाई बैंकर्स संघले गम्भीरतापूर्वक हेरेको छ ।’ हमलाको शिलशिला बढेपछि बैंकर्स संघले सुरक्षा निकायसँग सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गर्दै आइरहेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले समेत यसखालका घटनाबाट देशमा पेशा व्यवसाय सञ्चालनमा चूनौती थपिएको बताएको छ । आफ्ना कर्मचारीमाथि निरन्तररुपमा हमला बढेपछि परिसंघले पटक–पटक विज्ञप्ती नै निकालेर यसखालका घटनाको विरोध गर्दै आइरहेको छ । यस्तै, नेपाल सरकारले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाउनुपर्ने माग समेत परिसंघको छ ।
वाणिज्य बैंकका कर्मचारी पछिल्ला आक्रमणहरुबाट आफूहरुमा तनाव बढ्न थालेको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा नाम नखुलाउने सर्तमा उनले भने, ‘कानूनी व्यवस्था नबुझेका सेवाग्राहीले बैंकका कर्मचारीमाथि हमला गर्न थालेका छन् ।’ यसखालका हमलामा कर्मचारीलाई सुरक्षा दिनुपर्नेमा राज्यले गम्भीरतापूर्वक नलिएको आरोप समेत उनको छ । ‘त्यसैले अचेल त ‘फिल्ड’मा जानै डर लाग्न थालेको छ,’ ती कर्मचारीले भने ।
प्रतिक्रिया