बैंकिङ्ग समाचार, काठमाडौं ।
लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार १७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार २०७७ असार मसान्तको भन्दा २०७८ असार मसान्तसम्म १७.११ प्रतिशतले लघुवित्तको शाखा विस्तार भएको देखिएको छ ।
२०७७ सालको असार मसान्तसम्म देशभर लघुवित्तका ३ हजार ९४६ वटा शाखा रहेकोमा २०७८ असार मसान्तसम्म ६७५ वटाले बढेर ४ हजार ६२१ वटा शाखा पुगेका छन् । यि शाखाहरुको संख्यामा संस्थाको केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालयहरु समावेश नगरिएको राष्ट्र बैंकको प्रतिवेदनमा जनाइएको छ ।
यो अवधिसम्म आइपुग्दो ७ प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा लघुवित्तका २३.२६ प्रतिशत शाखा रहेका छन् भने सबैभन्दा कम कर्णालीमा ४.२८ प्रतिशत मात्रै शाखा रहेको देखिन्छ । लुम्बिनी प्रदेशभर १ हजार ७५ वटा शाखा रहेका छन् भने कर्णालीमा लघुवित्तका १९८ वटा शाखा मात्रै छन् ।
केन्द्रिय बैंकको प्रतिवेदन अनुसार प्रदेश नं.१ मा लघुवित्तका १६ प्रतिशत शाखा रहेका छन् । प्रदेश १ मा ७७२ स्थानमा लघुवित्तका शाखा रहेका छन् । त्यस्तै मधेश प्रदेशमा २०.७१ प्रतिशत शाखा रहेका छन् । त्यहाँ ९५७ स्थानमा विभिन्न लघुवित्तका शाखाहरु रहेका छन् ।
त्यस्तै संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा १४.१५ प्रतिशत ६५४ वटा लघुवित्तका शाखा रहेका छन् । गण्डकी प्रदेशमा देशभर रहेका शाखामध्ये ११.९९ प्रतिशत हिस्सा ओगटेको छ । यो प्रदेशका ५५१ स्थानमा विभिन्न लघुवित्तका शाखाहरुले सेवा प्रदान गर्दै आएका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेशमा ८.९६ प्रतिशत अर्थात ४१४ वटा शाखाबाट लघुवित्तले सेवा प्रवाह गरिरहेका छन् ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै शाखा मधेश प्रदेशमा थप भएका छन् । यहाँ १७७ वटा शाखा विस्तार भएका छन् । केन्द्रिय बैंकका तथ्यांक अनुसार यो थपिएका शाखाको २२.६९ प्रतिशत हो । शाखा विस्तारमा पनि कर्णाली प्रदेश पछि परेको छ । एक वर्षको अवधिमा त्यहाँ जम्मा २६ वटा शाखा विस्तार भएका छन् । त्यस्तै लुम्बिनीमा १६२ शाखा विस्तार भएका छन् भने प्रदेश नम्बर १ मा लघुवित्तका ९८ वटा शाखा थप भएका छन् ।
यस्तै, वागमतिमा ९७, सुदुरपश्चिममा ७४ र गण्डकीमा ५१ वटा शाखा विस्तार भएका छन् । लघुवित्त वित्तीय संस्थाको ४ हजार ६२१ शाखाबाट कुल ५१ लाख ९१ हजार ३ सय ६३ जनालाई सेवा प्रवाह गरिरहेका छन् । जुन औषतमा एक शाखाबाट १ हजार १२३ जना हुन आउँछ ।
प्रतिक्रिया