स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरूको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । आइतबार मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेकाले समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर उक्त अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन्।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए। सोही अनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एक महिनो अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेको जनाइएको छ।
अहिले देशैभर मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको संख्या बढिरहेको छ। ‘बिरामी भएपछि हुने उपचारका लागि हामीले ठूलो श्रोतसाधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्नेछौं।’
उनले सुरूवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित श्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भूमिका खेल्ने विश्वास व्यक्त गरे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको जनाएको छ।






About Us
प्रतिक्रिया