मेरो माइक्रोफाइनान्सद्वारा लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न


काठमाडौं – मेरो माइक्रोफाइनान्सले लघुवित्त सम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तीन दिने तालिम समारोहलाई सम्बोधन गर्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरूलाई हौसला प्रदान गर्नुका साथै लघुवित्तले विपन्न, गरिब तथा पछाडि परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदायिक विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

त्यस्तै, ग्रामीण भेगमा वित्तीय पहुँच बिस्तार गरेर वित्तीय साक्षरता प्रदान गर्दै आएको समेत बताए । उक्त अभिमुखीकरण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, संस्थाको परिचय, संस्थाको उद्देश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौर तरीका बारेमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

तालिममा देशभरका नवनियुक्त ५० जना कर्मचारीहरू, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ व्यवस्थापक राजु प्रसाद पुडासैनी तथा विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।