काठमाडौं – अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको छ। एबीएसका श्रम तथ्याङ्क प्रमुख सन क्रिकका अनुसार सेप्टेम्बरमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या ३९ हजारले घटेको छ भने बेरोजगार व्यक्तिको सङ्ख्या नौ हजारले बढेको छ। यसैगरी, कुल जनसङ्ख्यामा रोजगारीमा रहेका व्यक्तिको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.६ प्रतिशतमा झरेको छ। श्रमशक्तिमा सहभागिता दर पनि ०.२ प्रतिशत विन्दुले घटेर ६६.८ प्रतिशत कायम भएको क्रिकले बताएका छन्।
थप काम गर्न चाहने र त्यसका लागि उपलब्ध भए पनि पर्याप्त कामको समय नपाएका व्यक्तिको अवस्थालाई मापन गर्ने अल्परोजगारी दर ०.१ प्रतिशत विन्दुले बढेर ६.३ प्रतिशत पुगेको छ। सेप्टेम्बरमा आंशिक समय काम गर्नेहरूको कुल कार्यघण्टा १.५ प्रतिशतले घटेको छ भने पूर्णकालीन काम गर्नेहरूको कार्यघण्टा ०.४ प्रतिशतले बढेको क्रिकले जानकारी दिएका छन्।
यद्यपि, अस्ट्रेलियाली तथ्याङ्क ब्युरोले श्रम बजारको वास्तविक प्रवृत्ति आकलन गर्न सिफारिस गर्ने प्रवृत्तिगत (ट्रेन्ड) आधारमा भने बेरोजगारी दर ४.६ प्रतिशतमा स्थिर रहेको छ । उक्त अवधिमा प्रवृत्तिगत रोजगारी ०.१ प्रतिशतले बढेको छ भने कुल कार्यघण्टा स्थिर रहेको तथ्याङ्कमा उल्लेख छ। एबीएसका अनुसार वार्षिक आधारमा रोजगारी र कुल कार्यघण्टामा क्रमशः १.२ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ।







About Us
प्रतिक्रिया