काठमाडौं – मेलम्चीको खानेपानी आजै काठमाडौं सुन्दरीजल ल्याइने भएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आजै मेलम्चीबाट पानी काठमाडौं ल्याउन लागिएको हो । खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडामा पानी पठाउने विषयमा सहमति भएको थियो ।
उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याउने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले जानकारी दिए। उनले भने, ‘काठमाडौंमा मेलम्चीबाट पानी पठाउने विषयमा खानेपानी मन्त्री र सङ्घर्ष समितिबीच सहमति भएको छ। आजै मेलम्चीको पानी सुन्दरीजल ल्याउने तयारी हुँदै छ।’
दसैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएकामन्त्री यादवसहितको टोलीवार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो। वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो। सुरुङभित्र पानी पठाएपछि पानी आजै काठमाडा आइपुगेर वितरण प्रणालीमा जोडिने कार्यकारी निर्देशक लामिछानेले बताए।
उनले भने, ‘मेलम्ची खानेपानी विकास समितिले काठमाडौं पानी ल्याउन पहिलेदेखि तयारी गरेकाले पानी ल्याउन छिटो हुनेछ।’ विसं २०७८ असार १ गते तथा साउन १६/१७ गतेको बाढीपछि मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडामा हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ। – रासस






About Us
प्रतिक्रिया