काठमाडाैं – संसदीय सुनुवाइ समितिको पैतालिसौं बैठक आज बस्दै छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठक अबको केहीबेरमा सुरु हुँदैछ।
बैठकमा श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा निर्णय गरिने बताइएको छ। यसअघि समितिले भट्टराईको शैक्षिक प्रमाणपत्र नभेटिएपछि नियुक्ति सिफारिस थाती राखेको थियो। यसअघि सोमबारका लागि बोलाइएको बैठक आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो ।
समितिले १६ जना विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेपनि श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।
नाम स्वीकृत/अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाइ बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ । यसअघिको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन हुन सकेको थिएन् ।
गत बैठकमा समितिले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको स्नातक तहको सर्टिफिकेट मागेको थियो । सरकारले राजदूतमा सिफारिस गरेको आज ४५ दिन पुग्ने भएकाले आज नै राजदूत भट्टराईको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने समितिले टुङ्गो लगाउने छ ।
समितिमा दुई तिहाइ नपुगेको कारण वा अन्य कारण आज पनि निर्णय गर्न नसकेमा भने प्रस्तावित राजदूत रामकृष्ण भट्टराई स्वतः नियुक्तिका लागि योग्य हुनेछन्। संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीबमोजिम ४५ दिनभित्र संसदीय सुनुवाइ समितिबाट कुनै निर्णय नभएमा स्वतः नियुक्त हुने व्यवस्था गरेको छ।






About Us
प्रतिक्रिया