बूढीगण्डकी बाढीपछि विद्युत् सेवा पुनःस्थापनामा तीव्रता, धार्चेबाहेक सबै क्षेत्रमा आपूर्ति सुचारु

धार्चेमा विहानैदेखि काम सुरु, खोर्लाबेंसीसम्म आजै विजुली पुर्‍याउने प्रयास


काठमाडौं – बूढीगण्डकी नदी तथा यसको सहायक स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत तथा पुनःस्थापनाको काम तीव्र रूपमा अघि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार धार्चे गाउँपालिकाबाहेक प्रभावित अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको पुनःस्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। उनका अनुसार सडक पहुँच अवरुद्ध र विद्युत् लाइनमा व्यापक क्षति पुगेका कारण खोर्लाबेंसीभन्दा माथिल्लो क्षेत्रमा अझै सेवा सञ्चालन हुन सकेको छैन। यद्यपि खोर्लाबेंसीसम्म आजै विद्युत् पुर्‍याउने लक्ष्यसहित प्राधिकरणको टोली खटिएको छ।

नेपाल विद्युत् प्राधिकरणको आरुघाट वितरण केन्द्रका अनुसार आज बिहानदेखि धार्चे गाउँपालिकामा पनि पुनःस्थापनाको काम सुरु गरिएको छ। यसअघि नै आरुघाट क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीले विद्युत् सेवा अवरुद्ध गराएलगत्तै प्राधिकरणले मर्मत कार्य सुरु गरेको थियो। करिब १० घण्टामै भीमसेन थापा गाउँपालिकाका वडा नम्बर २, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो। त्यस्तै आरुघाट बजार, आरुघाट गाउँपालिकाको डाँडागाउँ शाखा तथा आरुपोखरी शाखामा पनि विद्युत् आपूर्ति सुचारु भइसकेको छ।

मन्त्रालयले प्रभावित सबै क्षेत्रमा यसै साताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जनाएको छ। बाढीका कारण गोरखा र धादिङ जिल्लाका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीसँगै जलविद्युत् आयोजनामा समेत उल्लेखनीय क्षति पुगेको मन्त्रालयले जनाएको छ। बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) जलविद्युत् आयोजनाका क्याम्प, निर्माण सामग्री, उपकरण, बेलिब्रिज, पहुँच सडक तथा आयोजनास्थल जोड्ने पुलहरूमा बाढीले क्षति पुर्‍याएको छ।

यस्तै गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोल ढलेका छन्। सोती, आर्खेत र आरुघाट बजार क्षेत्रका वितरण लाइनका पोलमा पनि क्षति पुगेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजारमा न्यून भोल्टेजका ६ वटा पोलमा समेत क्षति पुगेको मन्त्रालयले जनाएको छ।