युक्रेन ऋणमा डुब्ने खतरा, विश्वको आर्थिक वृद्धिदर ३.६% मा सीमित हुने :आइएमएफ

युक्रेन ऋणमा डुब्ने खतरा, विश्वको आर्थिक वृद्धिदर ३.६% मा सीमित हुने :आइएमएफ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
रुस र युक्रेनबीच भएको युद्धका कारण युक्रेन ठूलो ऋणमा पर्ने आइएमएफले चिन्ता व्यक्त गरेको छ । युद्ध शुरु भएको ५६ दिन पूरा हुँदा पनि युद्ध रोकिने संकेत देखिएको छैन ।

आइएफएमले यो वर्ष युक्रेनको विदेशी ऋण जीडीपीको ८६ प्रतिशतसम्म पुग्ने बताएको छ भने बजेट घाटा १७ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

त्यसैगरी आइएमएफले विश्वको आर्थिक वृद्धि यसअघि गरिएकोभन्दा कम हुने बताएको छ । दुई देशबीचको युद्धका कारण विश्वको अर्थतन्त्रमा आगामी २ वर्षसम्म असर पर्ने बताएको छ ।

आइएमएफले वर्ष २०२२ र २०२३ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यस्तो आर्थिक वृद्धि सन् २०२१ मा ६.१ प्रतिशत थियो ।

विश्व बैंकले समेत सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने प्रक्षेपण गरिसकेको छ ।

आइएमएफले युद्धका कारण सबैभन्दा बढी प्रभावित युक्रेन र रुसलाई पर्ने बताएको छ । साथै युक्रेनको अर्थतन्त्र ३५ प्रतिशतले घट्ने समेत उसको प्रक्षेपण छ । साथै पश्चिमा देशहरुले रुसमाथि लगाएको प्रतिबन्धका कारण रुसको अर्थतन्त्र ८.५ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

कैयन आवश्यक पूरा गर्न रुसमा आश्रित युरोपका लागि उर्जाको आवश्यकता बढेर २.८ प्रतिशत पुग्नेछ । जबकी गत जनवरीमा १.१ प्रतिशतमा सीमित थियो ।

आइएमएफले अमेरिकाको आर्थिक वृद्धि सन् २०२२ मा ३।७ प्रतिशत र सन् २०२३ मा २.३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

त्यसैगरी चीनको हकमा सन् २०२२ मा आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ । चीनले भने ५.५ प्रतिशतको लक्ष्य राखेको छ । चीनमा पछिल्लो समय लागू भएको लकडाउनका कारण पनि अर्थतन्त्रमा असर पर्ने बताइएको छ ।