\’रुपे कार्ड\’ भारतीय डिजिटल कार्ड सेवालाई नेपालमा मान्यता दिँदा के के फाइदा ?

\’रुपे कार्ड\’ भारतीय डिजिटल कार्ड सेवालाई नेपालमा मान्यता दिँदा के के फाइदा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

भारतको विश्वव्यापी कार्ड प्रणाली रूपे लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा रूपे नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका छन् ।

भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने रूपे विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको बैंकिङ्ग कार्ड हो ।

भारतीय प्रधानमन्त्री मोदीले यसले दुई देशबीच डिजिटल भुक्तानीलाई बढावा दिने उल्लेख गरेका छन् ।

नेपालमा रुपे कार्डको उपलब्धता वित्तीय जडानतर्फ अर्को ठुलो कदम हो र यसले डिजिटल भुक्तानीलाई बढवा दिनेछ  मोदीले ट्विट गर्दै भनेका छन् ।

सन् २०१२ मा सुरुवात भएको यो कार्ड अहिले करिब ७० करोड भारतीयहरूले प्रयोग गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतमा विभिन्न प्रणालीका करिब एक अर्ब बैंकिङ्ग कार्ड प्रयोगकर्ताहरू रहेको बताइन्छ । जसमध्ये करिब ६० प्रतिशतले रूपे प्रयोग गर्ने दाबी गरिएको छ ।

नेपाललाई के फाइदा ?

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भारतमा ठूलो सङ्ख्यामा प्रयोगकर्ताहरू रहेको कार्ड प्रणालीले नेपालमा पनि प्रयोग अनुमति पाउँदा तत्कालका लागि नेपाल घुम्न आउने भारतीयहरूले गर्ने खर्च पारदर्शी बनाउन सहयोग पुग्ने बताए ।

नगद कारोबार हुँदा जति पारदर्शिता हुन्थ्यो डिजिटल कारोबार हुँदा त्यो भन्दा बढी पारदर्शिता हुने भयो । किनभने यसको अभिलेख हुन्छ र यसमा नियामक निकायहरूको पहुँच हुन्छ, उनले भने ।

यसले नेपालका वित्तीय संस्थाहरूलाई पनि भारतीय बैंकहरूसँग हुने कारोबार मिलाउन सहज हुने उनी बताउँछन् ।

भारतीय विदेश मन्त्रालयले तयार गरेको एक भिडिओमा नेपालमा रूपे को प्रयोग अनुमतिपछि भारतीय पर्यटक र तीर्थयात्रीहरूलाई थप सहज हुने दाबी गरिएको छ ।

यसले भारतीय नागरिकहरूले नेपालमा गर्ने खर्चको अभिलेख राख्न पनि सहयोग पुग्ने पौडेलले बताए । उनका अनुसार भारतीय कार्डको प्रयोग नेपालमा सहज बनाइँदा सीमा पार अपराध र गैर कानुनी कारोबार समेत हतोत्साहित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

उताबाट पनि कानुनी रूपमा आर्जन गरिएको पैसा मात्र आउने भयो । किनभने बैंकमा खाता खोलेर त्यहाँ जम्मा गरेर नेपालमा पनि बैंकिङ्ग प्रणालीबाटै पैसा निकाल्नुपर्‍यो, नेपालको केन्द्रीय बैंकका कार्यकारी निर्देशक पौडेलले भने ।

कुनै पनि देशको बैंकिङ्ग प्रणालीमा जोडिँदा देशलाई फाइदा पुग्ने नेपाल च्याम्बर अफ कमर्सका बैंकिङ्ग कमिटी प्रमुख अनलराज भट्टराई बताउँछन् ।

नेपाल र भारतबीच बैंकिङ्ग प्रणाली जोडिँदा सीमा पार भुक्तानीलाई सहज गर्छ । हाम्रोमा कतिपय ठाउँमा नगद नै ओसार पसार पनि हुने गरेको सन्दर्भमा यसले धेरै फाइदा पुग्छ, उनले भने ।

भौतिक मुद्राको ओसारपसार कम हुँदा विगतमा भारतले गरेजस्तो नोटबन्दीको असर पनि नेपालमा कम हुने भट्टराई बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

नेपाल राष्ट्र बैंकका अनुसार पहिलो चरणमा भारतीय कार्डबाट नेपाल एसबीआई बैंकका एटीएम बुथहरू प्रयोग गरेर नेपाली नगद निकाल्न सकिन्छ ।

भारतीय विदेश मन्त्रालयले नेपालमा १४०० मसिनहरूबाट पैसा निकाल्न मिल्ने बताएको छ । एटीएम बाहेक विभिन्न बजारहरूमा राखिएका पिओएस (प्वाइन्ट अफ सेल्स) बाट पनि यसको प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

पहिलो चरणमा अन्य बैंकहरूबाट रूपे कार्ड प्रयोग गरेर नगद निकाल्न नसकिने राष्ट्र बैंकका अधिकारीले जानकारी दिए ।

हाललाई एसबीआई बैंकको एटीएम र पिओएसहरूमा यसको प्रयोग हुनसक्ने भयो, कार्यकारी निर्देशक पौडेलले भने । तर हामी सबै बैंक तथा वित्तीय संस्थाबाट यसको कारोबार हुनुपर्छ भन्नेमा छौँ ।

अहिले यस्ता कार्डहरू नेपालबाट जारी नहुने भएकाले नेपालका वित्तीय संस्थामा खाता खोल्ने नेपाली वा भारतीयहरूले भने यो कार्ड लिन नसक्ने राष्ट्र बैंकले जनाएको छ ।

कति रकम कारोबार गर्न पाइन्छ ?

नेपाल राष्ट्र बैंकले तत्कालका लागि नेपालको बैंकमा रूपे प्रयोग गरेर नगद निकाल्दा फरक मापदण्ड लागु नगरिएको जनाएको छ ।

नेपालमा एटीएमबाट एक पटकमा २०,००० देखि २५,००० र एक दिनमा १००,००० सम्म नगद निकाल्न सकिन्छ भने क्यू आर कोडको माध्यमबाट २००,००० सम्मको किनमेलमा भुक्तानी गर्न सकिन्छ ।

तर भारतबाट जारी हुने कार्डबाट नेपालमा गर्न सकिने खर्च भारतीय नियमले पनि प्रभावित हुनसक्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए ।

अहिले नै प्रयोग गर्न मिल्छ ?

केशर महलस्थित नेपाल एसबीआई बैंक लिमिटेडको कर्पोरेट कार्यालयले नेपालमा रूपे प्रयोगमा आइसकेको जानकारी दिएको छ ।

नेपाल एसबीआई बैंकका एटीएम टर्मिनलहरूमा रूपेका अन्तर्राष्ट्रिय कारोबारहरू सुरु गरिएको छ । सबै प्रकारका आन्तरिक वा विश्वव्यापी रूपे कार्डहरू पिओएस टर्मिनलहरूमा पनि स्वीकार गर्न सुरु गरिसकेका छौँ, उक्त बैंकले इमेलमा भनेको छ ।

नेपाल राष्ट्र बैंकले प्रधानमन्त्रीको भ्रमणअघि नै आफ्नो तर्फबाट उक्त कार्ड नेपालमा प्रयोग अनुमतिका लागि सबै प्रक्रिया पूरा गरेको पौडेलले जानकारी दिए ।

वीवीसी