काठमाडाैं – राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिएका छन् । बैठकको शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यन्वयन हुनुपर्नेमा जोड दिए।
पीडितले छिटो न्याय पाउनुपर्ने उनको भनाइ थियो । राष्ट्रियसभा सदस्य रुक्मणि कोइरालाले तनहुँमा भारतीय बस खसेर भएको दुर्घटना तथा खोटाङबाट काठमाडौं आउँदै गरेको गाडी दुर्घटनामा परेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले पहल थाल्नुपर्ने सुझाव दिए ।
सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिए । ‘सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बडिमालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास हुनुपनर्छ’, उनले भने ।
सांसद विष्णुकुमारी सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडापन रोक्नुपर्नेमा जोड दिइन् । सांसद विष्णुदेवी पुडासैनीले सडक दुर्घटना न्यूनीकरण गर्न उपाय अवलम्बन गर्न सरकारसँग माग गरिन् ।
सांसद विष्णुबहादुर विश्वकर्माले बूढानीलकण्ठस्थित करुणा अस्पतालमा गत असार ३१ गते दुई शिशुको मृत्यु भएको घट्नाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरे । सांसद कृष्णप्रसाद अधिकारीले देशभर विपद्मा एक सय ९७ जनाको ज्यान गएको भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए ।
प्रतिक्रिया