पाथीभरामा भक्तजनको लर्को


ताप्लेजुङ – नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ। नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ। पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ।

कञ्चनजङ्घा, मकालु र फक्ताङलुङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न तथा पाथीभरा माताको दर्शन गर्न आएकाहरूले प्रायः सबै होटल भरिएका स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए।

नवरात्रमा तीर्थयात्रीको आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले समितिसहित सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक प्रबन्ध गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए।