विद्युतीय भुक्तानी कार्ड भनेको के हो ? फरक फरक कार्डले के काम गर्दछ ?

विद्युतीय भुक्तानी कार्ड भनेको के हो ? फरक फरक कार्डले के काम गर्दछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्युतीय भुक्तानी कार्ड हुन् । यस्ता कार्डहरु बैंकले जारी गर्ने गरेका छन् । हामीले प्रयोग गरिरहने एटीएम कार्ड पनि विद्युतीय कार्ड हो । तर एटीएम कार्डमात्रै विद्युतीय भुक्तानी कार्ड भने होइन ।

नेपालमा हाल क्रेडिट कार्ड, डेविट कार्ड र प्रिपेड कार्ड गरी ३ प्रकारका भुक्तानी कार्डहरु प्रचलनमा छन् । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले यस्ता कार्डहरु जारी गर्ने अधिकार पाएका हुन्छन् ।

राष्ट्र बैंकको नीति अनुसार ‘क’बैंक वर्गका बैंकले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न पाउछन् भने ख वर्गक विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुले क्रेडिट कार्ड बाहेकका अन्य विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न पाउने व्यवस्था छ । ‘घ’ वर्गमा रहेका लघुवित्तको हकमा भने कार्ड जारी गर्ने अधिकार दिइएको छैन ।

यसबाहेक बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले स्वदेशी मुद्रामा मात्र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था रहेको छ । बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिटरक्रेडिट) जारी गर्न भने पाउदैनन् ।

विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्टरूपमा उल्लेख गर्नुपर्नेछ । तर, त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइनेछैन ।

साथै, कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएसमार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ । अब कुन कार्डले केके काम गर्छन्, त्यसबारे चर्चा गरौं 

डेविट कार्ड

डेविट कार्ड भनेको बैंक खातामा रहेको रकम झिक्न तथा भुक्तानी गर्न मिल्ने गरी ग्राहकको नाममा जारी भएको कार्ड हो । जस्तैः एटीएमबाट नगद पैसा निकाल्ने, सपिङ सेन्टर वा अन्य पसलमा सामान किनेपछि भुक्तानी दिन लगायतमा यस्तो कार्डको प्रयोग गर्ने गरिन्छ । यसका लागि तपाईको बैंक खातमा पैसा भने हुनुपर्नेछ ।

क्रेडिट कार्ड

क्रेडिट कार्ड भनेको ग्राहकको बैंक खातामा पैसा नभएतापनि कार्डबाट भुक्तानी गर्न सकिने सुविधा सहितको कार्ड हो । यस्तो कार्डमा कार्डबाट खर्च भएको रकम कार्डधारकले निश्चित समय पश्चात सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तोकिएको शूल्क सहित बुझाउनु पर्दछ । तपाईको बैंक खातामा पैसा छैन भने पनि क्रेडिट कार्डको माध्यमबाट किनमेलको भुक्तानी गर्न सक्नुहुनेछ ।

प्रिपेड कार्ड

प्रिपेड कार्ड भनेको बैंकमा खाता रहेका ग्राहक अथवा खाता नभएको व्यक्ति दुबैले निश्चित रकम तिरी प्राप्त गर्न सकिने कार्ड हो । यस्तो कार्डबाट तोकिए बमोजिम नगद झिक्न तथा खरीद गर्दा भुक्तानी गर्न सकिन्छ ।

कार्डमा भुक्तानीको सीमा

विद्युतीय कार्डको प्रयोग गरि नगद झिक्न तथा रकमान्तर गर्न फरक फरक सीमा तोकिएको छ । उदाहरणको लागि डेविट कार्ड मार्फत नगद झिक्नु परेमा एक पटकमा रु. २५ हजार र एक दिनमा रु. १ लाख सम्म नगद झिक्न सकिन्छ ।

कार्डका ब्राण्ड

अहिले नेपाली बैंकहरुको कार्ड हेर्ने हो भने कसैको भिजा कार्ड त कुनै बैंकले युनियन पे लेखेको कार्ड जारी गरेका छन् । जस्तै, अहिले तपाईले ग्लोबल आइएमई बैंकको एटीएम कार्ड हेर्नुभयो भने भिसा लेखेको देख्नु हुनेछ । प्रभु बैंकको एटएिममा भने युनियन पे लेखिएको छ ,।

अव यी दुई कार्डहरुबीच फरक चाहिँ के छ त ?

यी दुई कार्डहरुबीच फरक भनेको ब्राण्डमात्रै हो । भिसा अमेरिकी कार्ड ब्राण्ड हो भने युनियन पे चिनिया कार्ड ब्राण्ड हो । अहिले स्मार्ट च्वाइस टेक्नोलोजीले युनियन पेसँगको सहकार्यमा यस्तो कार्ड जारी गरिरहेको छ । ग्राहकका लागि भने यी दुबै कार्डमा केही फरक छैनन् ।