चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ५ खर्ब २५ अर्बले बचतमा

चालु खाता २ खर्ब र शोधनान्तर स्थिति ५ खर्ब २५ अर्बले बचतमा


काठमाडौं – सरकारको चालु खाता झन्डै २ खर्बले बचतमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ मा आधारित वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले चालु खाता झन्डै २ खर्बले बचतमा रहेको देखाएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु. २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ रुपैयाँ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु। ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।