यस वर्ष बैंकहरुको निक्षेपको बृद्धिदर ६ वर्ष यताकै न्युन, डेढ वर्षमा साढे १२ खर्ब बढीको कर्जा लगानी

यस वर्ष बैंकहरुको निक्षेपको बृद्धिदर ६ वर्ष यताकै न्युन, डेढ वर्षमा साढे १२ खर्ब बढीको कर्जा लगानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरुको निक्षेप संकलन निकै कम देखिएको छ। गत डेढ वर्षमा कर्जा लगानी ४४ प्रतिशतले बढेको भए पनि निक्षेप संकलन भने न्युन छ। 

नेपाल बैंकर्स एशोशियसनको तथ्याङ्क अनुसार बैंकहरुको निक्षेप संकलन विगत ६ वर्ष यताकै न्यून देखिएको हो। चालु आर्थिक वर्षको माघसम्ममा बैकहरुले १ खर्ब १० अर्ब रुपैयाँ मात्रै निक्षेप सँकलन गरेका छन्। बैंकर्स स‌ंघले उपलब्ध गराएको गत ६ वर्षको तथ्याँकमा यस वर्ष निक्षेपको बृद्धिदर सबैभन्दा कम छ।

गत आर्थिक वर्षको यही ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँले बढेको थियो। तर यस वर्षको सुरुवातदेखि नै बैंकहरुमा निक्षेप संकलन बढ्न सकेको छैन्। उल्टै निक्षेप संकलन घट्दो क्रममा छ।

चालु आर्थिक वर्षमा बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि निक्षेपकर्ता भने आकर्षित हुन सकेका छैनन्। वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशत माथि पुर्याइसकेका छन्। तर पनि बैंकहरुले निक्षेप भने सोचेजस्तो बढ्न सकेको छैन्।

आर्थिक वर्ष २०७६र७७ को यसै अवधिमा बैंकहरुको निक्षेप १ खर्ब ८८ अर्ब रुपैयाँले बढेको थियो भने २०७५र७६ मा २ खर्ब १ अर्ब, २०७४र७५ मा १ खर्ब २१ अर्ब, २०७३र७४ मा १ खर्ब ८९ अर्ब र आर्थिक वर्ष २०७२र७३ मा पनि निक्षेप संकलन १ खर्ब ३६ अर्ब रुपैयाँले बढेको थियो।

यस वर्ष भदौ, असोज, पुस र मंसिरमा निक्षेप संकलन केही बढेको भए पनि आर्थिक वर्षको सुरुवाती महिना असारमा नै निक्षेप संकलन ७८ अर्ब रुपैयाँले घटेको थियो। यस्तै गत कार्तिक महिनामा पनि निक्षेप संकलन ३६ अर्ब रुपैयाँले घटेको छ भने माघमा १३ अर्ब रुपैयाँले घटेको छ।

विगतमा लगानीयोग्य रकम कम हुँदा बैंकहरुले निक्षेपको ब्याजदर उच्च रुपले बढाएर निक्षेप संकलन बढाउने गरेका थिए। तर यस वर्ष ब्याजदर बढाएपनि निक्षेप बढ्न सकेको छैन्।

माघ अन्तिमसम्ममा बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ११ अर्ब रुपैयाँ छ। 

बैंकहरुको कर्जा लगानी उच्च छ। निक्षेप संकलन खासै धेरै नभए पनि कोभिड महामारिको समयमा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको कारण कोभिडपछि कर्जा विस्तार भने उच्च भएको छ। बैंकर्स एशोशियसनको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा बैंकहरुका ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

गत साउनमा ४३ अर्ब कर्जा दिएका बैंकहरुले भदौमा १ खर्ब ८ अर्ब, असोजमा १ खर्ब २६ अर्ब, कार्तिकमा ३६ अर्ब, मंशिरमा ५० अर्ब, पुसमा ५९ अर्ब र माघमा १२ अर्ब रुपैयाँ रुपैयाँ कर्जा लगानी गरेका छन्।

गत आर्थिक वर्षको यही ७ महिनामा बैंकहरुले ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। गत वर्षदेखिनै बैंकहरुको कर्जा लगानी उच्च छ।

गत आर्थिक वर्षको भदौ यता बैंकहरुले १२ खर्ब ७७ खर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्। गत आर्थिक वर्षको भदौ महिनादेखि बैंकहरुको कर्जा लगानी लगातार बढ्दो क्रममा छ। गत आर्थिक वर्षमो साउनसम्ममा २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको कर्जा लगानी गत माघ अन्तिमसम्ममा ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।