नक्कली नोट कसरी चिन्ने ?

नक्कली नोट कसरी चिन्ने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
भारतीय बजारमा नक्कली नोटको बारेमा धेरै नै समाचारहरु आएको पाइन्छ तर पछिल्लो समय नेपाली बजारमा पनि नक्कली नोटहरु भेटिएको समाचारहरु धेरै बाहिर आइरहेका छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नक्कली नोटको बारेमा सचेत गराउन बेला बखतमा विज्ञप्ति समेत निकाल्ने गरेको छ । तर पनि  
काठमाडौ लगायत देशका विभिन्न सहर देखि गाँउ सम्म नक्कली नोटको कारोबारमा संलग्न अपराधिहरुलाई प्रहरीले समाएको पाइन्छ । 
तसर्थ, हामीले यस्ता नक्कली रुपैया कसरी चिन्ने र यसबाट बच्नको लागि के गर्ने भन्ने बारे यो सामाग्री ल्याएका छौं ।
राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ । नक्कली नोटको फन्दाबाट जोगिन होस पुर्याउनुपर्ने बताउँदै राष्ट्र बैंकले ठूला दरका नोटसक्कली वा नक्कली कसरी छुट्याउने भनेर जानकारी समेत दिएको छ । राष्ट्र बैंकले एक सय, पाँच सय र एक हजार रुपैयाँ दरका नोटहरु नक्कली भेटिन सक्ने भन्दै यसलाई कसरी छुट्याउने भनेर विज्ञप्ती जारी गरेको छ ।
कसरी चिन्ने नक्कली नोट 
नक्कली नोट सक्कली जस्तो पक्कै पनि हुदैन नक्कली नोटलाई सरल तरिकाले कसरी चिन्ने भन्ने जानेमा नक्कली नोट बाट सजिलै जोगिन सकिनेछ ।
पानीछाप (वाटरमार्क)
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च, लाइटर, मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।
नेपाल राष्ट्र बैंकको अंग्रेजी संक्षिप्त रुप एनआरबीको केही अंश नोटको अग्रभागमा र उक्त एनआरबीको बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ । नोटको उक्त एनआरबी प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पुरा नदेखिने तर नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट एनआरबी देखिन्छ । उक्त एनआरबी अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।
सुरक्षण धागो 
सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुबैतर्फबाट नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।
नोटको अग्र भागमा प्रिन्ट गरिएको ‘श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।’ भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहीनहरुका लागि राखिएका तीनवटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका विशेषताहरु हुन्छन । उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।
पाँच सय रुपैयाँ र एक सय रुपैयाँको नोट पनि करिब–करिब चिन्ने तरिका उस्तै हुन्छ । तथापि नोट पहिचान गर्दा कुनै एक मात्र सुरक्षण विशेषतामा भर नपरी उल्लेखित सम्पूर्ण सुरक्षण विशेषताहरु भए नभएकाबारे यकिन गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन ।
अन्य तरिका
साधारण काजग भन्दा नोट बनाउने कागज भिन्न हुन्छ । त्यसैले यसमा पानी पर्दा वा हाल्दा नोट साधारण कागज जसरी गल्दैन । नोटलाई बनाउदा यी कुरामा बिशेष ख्याल गरि बनाइएको हुन्छ तर अपराधिक समुह वा व्यक्तिले साधारण कागजबाट नै नोट बनाउने भएकोले पानीको छिट्टा मात्रै नक्कली नोटमा पर्दा नक्कली नोटमा भएको रङ्गहरु पोतिने वा खुइलिने हुन्छ तर सक्कली नोटमा त्यस्तो केहि हुदैन ।
अर्काे तरिका भनेको छामेर थाहा पाउँने, सक्कली नोट जहिले पनि खस्रो हुन्छ चाहे त्यो पुरानो नोट होस वा नयाँ नै किन नहोस तर नक्कली नोट भने चिल्लो हुन्छ । 
साथै, सक्कली नोटको आवाज बाट पनि सजिलै चिन्न सकिन्छ, सक्कली नोटको छेउको भागमा आंैलाले हान्यो भने कडा आवाज आउछ तर नक्कली नोटमा त्यस प्रकारको बिशेषता भने हुदैन । अर्काे तरिका भनेको अङ्कमा लेखिएको भागमा छाम्यो भने अरु भागको भन्दा केही उठेको पाइन्छ जसको कारणले नोट पहिचान हुनलाई सजिलो हुन्छ ।
यी माथिका बिशेषताबाट नै कुन सक्कली नोट र कुन नक्कली नोट भनेर पहिचान गर्न सकिन्छ ।