यस्तो छ गड्तौलाको नेपालको पहिलो महिला मुख्यसचिवसम्मको यात्रा…


काठमाडौं – बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले एउटा निर्णय गर्‍यो। जुन निर्णयले इतिहासमा पहिलो पटक मुख्यसचिवको रूपमा महिलालाई पाएको छ। इतिहास रच्न सफल महिला मुख्यसचिव हुन लीलादेवी गड्तौला। बिहीबार मुख्यसचिवमा नियुक्त भएसँगै निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हाल्दा पहिलो पटक महिलाले नेतृत्व पाएको हो।

गड्तौला मुख्यसचिवमा नियुक्त भएसँगै सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ‘देभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई भन्दै बधाई दिएका छन्। अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि गड्तौलालाई बधाई तथा शुभकामना दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट २०८१ असार १० गते निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी गड्तौलालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गत असार ३१ गते कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो। मुख्य सचिव डा. वैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा दायरपछि उनी निलम्बनमा छन् । अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरेर पठाइएको छ ।

२०५२ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी गड्तौला आउँदो भदौ १५ गते उमेर हदका कारण अवकाशमा जानेछिन्। त्यसैले अब गड्तौलाले करिब ३५ दिन मुख्यसचिवको जिम्मेवारी सम्हाल्नेछिन्। भलै थोरै समय होला तर गड्तौलाले मुख्यसचिव बन्दै इतिहास रच्न सफल भएकी छिन् । नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक निमित्त र कामु मुख्यसचिवको जिम्मेवारी पनि गड्तौलाले नै पाएकी हुन् ।

२०२३ भदौ १५ गते तेह्रथुमको पिप्ले हाल म्याङ्लुङ– ४ मा  जन्मिएकी गड्तौलाले २०५२ सालदेखि शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी थिइन्। त्यसप्रश्चात् साढे १० वर्षपछि २०६३ कात्तिकमा उपसचिवमा बढुवा भइन्। उनी २०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सहसचिव बनेकी थिइन्। वि.सं २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भइन्। २०८१ असार १० गतेदेखि ३० गतेसम्म निमित्त मुख्यसचिव र असार ३१ गतेदेखि कायममुकायम मुख्यसचिव बनिन्। त्यसपछि भने लीलादेवी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन्। २ वर्ष उनले नेपाल कानून आयोगमा सचिवको जिम्मेवारी सम्हालिसकेकी छन् ।

मुख्यसचिव गड्तौलाले नेपाल ल क्याम्पसबाट आइएल र बीएल उत्तीर्ण गरेकी छिन्। काठमाडौं स्कुल अफ ल बाट ह्यूमन राइट्स एण्ड जेन्डर जष्टिसमा स्नातकोत्तर गरेकी उनले राजनीति शास्त्रमा समेत एमए गरेकी छन्। गड्तौलासँग गृह, जलस्रोत, ऊर्जा, उद्योग, परराष्ट्र मन्त्रालय र निर्वाचन आयोगमा समेत काम गरेको अनुभव छ। 

नेपालको प्रथम महिला सचिव चन्द्रकला किरण (२०४१) पछि सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव (२०८०) बनिन्। त्यसपछि पहिलो महिला कायममुकायम मुख्य सचिव (२०८१) का रूपमा गड्तौला भएकी थिइन्। साढे ८३ हजारभन्दा बढी निजामती कर्मचारीको सर्वोच्च पद नै मुख्यसचिव हो । यो पदमा पुग्न उच्च तहका निजामती कर्मचारीको दौडधुप नै चल्छ । नेपालको इतिहासमा पहिलो पटक मुख्यसचिव बन्न सफल गड्तौलालाई हाम्रो तर्फबाट पनि बधाई तथा कार्य सफलताको शुभकामना ।