बैंकिङ्ग प्रणालीमा एकैदिन २४ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा गिरावट कायमै

बैंकिङ्ग प्रणालीमा एकैदिन २४ अर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहमा गिरावट कायमै


काठमाडौं – पछिल्लो समय घट्दो कर्जा प्रवाह बढ्दो निक्षेप संकलनको प्रकिया जारी छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तंथ्याकअनुसार हाल बैंकिङ्ग प्रणालीको निक्षेप संकलन ६४ खर्ब ५७ अर्ब पुगेकेा छ। तथ्यांकअनुसार असार २५ गते गत मंगलबार एकैदिन २४ अर्बले बढ्दै बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ५७ अर्ब निक्षेप संकलन भएको हो।

असार २४ गते सोमबारसम्म बैंकिङ्ग प्रणालीमा ६४ अखर्ब ३३ अर्ब निक्षेप संकलन भएको थियो। सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि २३ अर्बले बढेको छ। गत सोमबारसम्म ५७ खर्ब ५ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले मंगलबार ५७ खर्ब २८ अर्ब निक्षेप संकलन गरेका हुन्।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा १ अर्बको गिरावट आएको छ। सोमबारसम्म ५१ खर्ब ५७ अर्ब प्रवाह भएकोमा मंगलबार ५१ खर्ब ५६ अर्ब प्रवाह भएको छ। सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा २ अर्बले घटेको छ। सोमबार ४५ खर्ब ६२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले सोमबार ४५ खर्ब ६० अर्ब कर्जा प्रवाह गरेका छन्।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.१३ प्रतिशतबाट बढ्दै ७८.८४ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९३ प्रतिशतबाट बढेर २.९८ प्रतिशत कायम भएको छ।