बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६३ खर्ब नाघ्यो

बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६३ खर्ब नाघ्यो


काठमाडौं – पछिल्लो चरण बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह घट्दा बैंकहरुमा निक्षेप संकलन बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६३ खर्ब नाघेको छ ।

केन्द्रीय बैंकको असार १२ गतेको तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा ६३ खर्ब २ अर्ब निक्षेप संकलन भएको छ। असार ११ गते भने बैंकिङ्ग प्रणालीमा ६२ खर्ब ९४ अर्ब निक्षेप संकलन भएको थियो। तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेप संकलन एकैदिन ८ अर्बले बढेको छ ।

साे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ८ अर्बले वृद्धि भएको छ । मंगलबार ५५ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले बुधबार ५५ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेका छन् । निक्षेप संकलनसँगै बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा पनि वृद्धि भएको छ । मंगलबार ५१ खर्ब ४० कर्जा प्रवाह भएकोमा बुधबार ५ अर्बले बढेर ५१ खर्ब ४५ अर्ब पुगेको छ ।

सो समयवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा पनि वृद्धि भएको छ। असार ११ गते वाणिज्य बैंकहरुबाट ४५ खर्ब ४७ अर्ब कर्जा प्रवाह भएकाेमा असार १२ गते ४५ खर्ब ४१ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७९.५१ प्रतिशतमा कायम रहेको उल्लेख गरेको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।