बचतकर्ताको रकम अपचलनको आरोपमा लालीगुँरास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ


काठमाडौं – लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीसहित ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले बचतकर्ताको रकम अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ, सीईओ भण्डारी, कोषाध्यक्ष अमृत कुमार अर्याल र सदस्य कदमबाबा जोशी प्रधानलाई प्रक्राउ गरेको हो।

उनीहरूविरूद्ध २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएसँगै उनीहरू फरार थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार १४ गते काठमाडौंका विभिन्न स्थानहरूबाट चारै जनालाई पक्राउ गरेको हो।

उनीहरूले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका अध्यक्ष श्रेष्ठको उमेर ७६ वर्ष पुगिसकेको छ। श्रेष्ठले ३१ वर्षसम्म नेपाल बैंकको शाखा प्रबन्धकको रुपमा काम गरेका थिए।