काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज तय गरिएको मतदान कार्यक्रम फेरि स्थगित भएको छ। मतपत्र छपाइमा भएको ढिलाइ तथा आवश्यक प्राविधिक तयारी पूरा नभएकाले अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु गर्ने तयारी गरिएको छ।
केन्द्रीय निर्वाचन समितिले यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो। तर तयारी अपुग रहेको भन्दै समय पटक–पटक सारिएपछि अन्ततः आज मतदान सम्भव नभएको निष्कर्षमा समिति पुगेको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतपत्र छपाइमा ढिलाइ हुनुका साथै आवश्यक व्यवस्थापन पूरा नभएकाले आज मतदान गराउन नसकिने बताए। यसबारे समितिले अपराह्न ४:१५ बजे पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिने तयारी गरेको छ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार केही प्राविधिक कारण र तयारी अपुग रहेकाले मतदान शुक्रबार बिहान ७ बजेका लागि सारिएको हो। योसँगै महाधिवेशनको मतदान कार्यतालिका चौथोपटक संशोधन भएको छ।
निर्वाचन समितिले सुरुमा बुधबार मतदान हुने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि उम्मेदवारी फिर्ता लिने समय थपिएपछि मतदान बिहीबार बिहान १० बजेका लागि सारिएको थियो। बिहीबार बिहान तयारी नपुगेको भन्दै मतदान दिउँसो १ बजे, त्यसपछि २ बजे र पुनः साढे २ बजेसम्मका लागि सारिएको थियो। तर मतपत्र समयमै छाप्न नसकिएपछि आज मतदान नहुने निर्णय गरिएको हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। आजै राति मतदान गराउने विषयमा पनि छलफल भए पनि धेरै प्रतिनिधि महाधिवेशनस्थलबाट बाहिरिसकेकाले शुक्रबार बिहानबाट मात्र मतदान सुरु गर्ने निर्णय गरिएको जनाइएको छ।






About Us
प्रतिक्रिया