बजार व्यवस्थापन प्रभावकारी भएपछि व्यापारी खुसी

बजार व्यवस्थापन प्रभावकारी भएपछि व्यापारी खुसी


धरान – सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जारमा प्रदेश सरकार र वडाको सहयोगमा बजार व्यवस्थापन गरिएपछि व्यापारी खुसी भएका छन्। यसअघि कालाबन्जारको मुख्य सडकमा लाग्दै आएको बजारलाई अहिले दक्षिणपट्टि रहेको सार्वजनिक जमिनमा व्यवस्थापन गरिएपछि व्यापार गर्न सहज भएको व्यापारी बताउँछन् ।

बजार व्यवस्थापनले धेरै सुविधा र सहज भएको स्थानीय कपडा व्यवसायी सुदीप राउतले बताए। पहिले खुला ठाउँमा व्यापार गर्दा पानी र घाममा उभिएर गर्नुपर्नेमा अहिले टहरामुनि बसेर गरिरहेको उनले जानकारी दिए । उनले भने, ‘अहिले पानी परे पनि सामान भिज्न पाउँदैन, अनि गर्मीमा शीतल भइरहेको छ।’

पहिले पानी, शौचालयलगायत संरचनाको व्यवस्थापन नहुँदा व्यापारीलाई धेरै समस्या हुने गरेको व्यवसायी मनोज गुप्ताले बताए। अहिले वडाले व्यापारका लागि छुट्टै स्थान र टहराको व्यवस्था गरेपछि व्यापार गर्न सहज भएको उनले सुनाए । क्रमिक रूपमा जनघनत्व बढ्दै गएसँगै बजार लाग्ने ठाउँ साँघुरो भएकाले व्यवसायीका साथै उपभोक्तालाई सहज गराउने उद्देश्यले बजारलाई सार्वजनिक स्थलमा व्यवस्थापन गरिएको कालाबन्जर बजार व्यवस्थापन समितिका अध्यक्ष गोकुल थापाले बताए। ‘बजार व्यवस्थापनका लागि ठाउँ खोज्दै जाँदा पुरानो बजार नजिकै रहेको सार्वजनिक जमिन उपयुक्त लागेर सो क्षेत्रको अध्ययन, अनुसन्धान गरेसँगै काम थालेका हौँ’, उनले भने।

दुई वर्ष अगाडि प्रदेश सरकारअन्तर्गत कृषि मन्त्रालयबाट सांसद उमिता बराइलीको कोषबाट रु. १५ लाखको सहयोगमा टहरा बनाउन सुरु गरिएको थापाले जानकारी दिए। उनका अनुसार पहिले खोला बग्ने ठाउँलाई माटोले पुरेर बजार लाग्न योग्य बनाइएको हो। अहिले वडाको गौरवको योजनाका रुपमा व्यवस्थित बजार बनेको अध्यक्ष थापाले बताए । हाटबजार लाग्न सुरु भए पनि अझ व्यवस्थित बधशाला बन्न नसकेको गुनासो गर्दै उनले सम्बन्धित निकायले यथाशीघ्र यसको पनि व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

पाल टाँगेर व्यापार गर्दा व्यापारी र उपभोक्त दुवैलाई सास्ती हुने गरेकामा बजार व्यवस्थापनले सबैलाई सहज बनाएको बराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काफ्लेले बताए। उनका अनुसार पहिलो वर्ष रु. ३० लाख सहयोगमा करिब ७० वटा टहरा निर्माण गरिएको छ ।

गत वर्षको योजनाअन्तर्गत नगरपालिकाले उपलब्ध गराएको रु. २५ लाखमा तीनवटा टहरासँगै सामुदायिक शौचालय र ऐतिहासिक इनार बनाउन थालिएको वडाध्यक्ष काफ्लेले जानकारी दिए। यस योजनाले कालाबन्जारको व्यापारिक गतिविधिलाई प्रवर्द्धन गर्न मद्दत पुर्याएको भन्दै नयाँ व्यापारिक केन्द्र निर्माण गरिएपछि व्यवसाय विस्तार गर्न प्रेरित गरिएको उनको भनाइ छ ।