सरकारले स्वास्थ्य बीमा क्षेत्रलाई बिर्सेन : अध्यक्ष लोहनी

सरकारले स्वास्थ्य बीमा क्षेत्रलाई बिर्सेन : अध्यक्ष लोहनी


काठमाडाैं– सरकारले स्वास्थ्य बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर सन्तोषजनक बजेट विनियोजन गरेको स्वास्थ्य बीमा बोर्डको अध्यक्ष गुणराज लोहनीले बताएका छन्। बजेटले स्वास्थ्य बीमा क्षेत्रको विकास र बिस्तारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष लोहनीले बताए। उनले भने, ‘सरकारले बजेटमा स्वास्थ्य बीमा क्षेत्रलाई महत्त्व दिएर प्राथमिकतामा नै राखेको र आगामी वर्षको बजेटले बिमा क्षेत्र सन्तुष्ट हुने माहौल बनाएको छ।’

चालु आ.वको बजेटमा पनि स्वास्थ्य बीमा क्षेत्रका लागि ७ अर्ब ५ करोड रुपैयाँनै बजेट विनियोजन गरिएको थियो। तर समग्र बीमा क्षेत्रमा बजेट नछुट्याएकाले सबै बजेट स्वास्थ बीमा क्षेत्रका लागि मात्र छ भन्ने आरोप पनि लागेको छ। उनी भन्छन्, ‘अघिल्लो बजेट विनियोजनको भन्दा रकम बढाएको छैन ,यसपालि पनि त्यतिमा नै सीमित गरिएको छ, झन् धेरै जनसंख्यालाई समेट्नु पर्ने छ।’

स्वास्थ्य बीमा कार्यक्रमको लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन

सरकारले आगामी वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमाको पहुँच विस्तार गरेर स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न सो रकम छुट्टाएको बताएका हुन्।

अर्थमन्त्री पुनले आगामी आवमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने पनि बताए । यसका साथै आगामी वर्षको बजेटमा स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कोष र स्वास्थय बीमा कार्यक्रमबीचको दोहोरोपन समेत हटाइने नीति समेटिएको छ। अर्थमन्त्री पुनले सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले कोषमार्फत नै स्वास्थ्य बीमाको सुविधा पाउने तर दोहोरो सेवा नपाउने बताएका हुन्।