ऋणपत्र

असोज २९ गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक

‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही असोज २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ, बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन बन्द छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते हुनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।