वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ५८ लाख ठगी गर्ने चार जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौंका दिपेन्द्र दाहाल, युवराज रिजाल, धादिङका रमेश दनै, रोल्पाका बिरसिंहबाठा रहेका छन्। 

पक्राउ मध्ये दिपेन्द्रले स्पेन पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३५ लाख ९४ हजार, रमेशले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख, युवराजले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख र बिरसिंहले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७८ हजार ठगी गरेका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका– १० बाट, रमेशलाई
काठमाडौं तार्केश्वर नगरपालिका– १० बाट, युवराजलाई काठमाडौं टोखा नगरपालिका– ९ बाट र बिरसिहंलाई काठमाडौं महानगरपालिका– १० बाट पक्राउगरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।