काठमाडौं– महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा नेपाल सरकारको कुल खर्च रु.९ खर्ब ९ अर्ब ३९ करोड भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले सरकारी खर्च गत आर्थिक वर्षको पहिलो नौ महिनामा १८.७ प्रतिशतले वृद्घि भएकोमा, समीक्षा अवधिमा ३.६ प्रतिशतले ह्रास आएको उल्लेख गरेको हो ।
समीक्षा अवधिमा चालु खर्च रु.६ खर्ब ४४ अर्ब ३ करोड, पँुजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१ खर्ब ६७ अर्ब ९९ करोड रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७ खर्ब ४८ अर्ब ४ करोड भएको छ । गत आर्थिक वर्षका नौ महिनामा १३.४ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ९.४ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.६ खर्ब ७१ अर्ब १२ करोड र गैर कर राजस्व रु.७६ अर्ब ९३ करोड परिचालन भएको छ । नेपाल सरकारको नगद मौज्दात २०८० चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३ खर्ब १३ अर्ब ७२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.६५ अर्ब ३६ करोड रहेको थियो ।
प्रतिक्रिया