राष्ट्र बैंकमा वित्तीय गुनासो बढ्दो, एक वर्षमा ३ हजार बढी उजुरी

राष्ट्र बैंकमा वित्तीय गुनासो बढ्दो, एक वर्षमा ३ हजार बढी उजुरी


काठमाडौं– नेपाल राष्ट्र बैंकले गत एक वर्षमा ३ हजार बढी ग्राहकहरुबाट प्राप्त उजुरी तथा गुनासोको समाधान गरेको छ । बैंकले २०८० वैशाख १ देखि चैत ३१ गतेसम्म प्राप्त उजुरी मध्ये ३ हजार ७६ वटा उजुरी तथा गुनासोको समाधान गरेको हो ।

केन्द्रीय बैंकले समाधान गरेको उजुरीहरुमा सबैभन्दा बढी कर्जा, कर्जाको ब्याजदर, कालोसूची र विद्युतीय भुक्तानी सम्बन्धी कसुरका उजुरीह्ररु बढी रहेको छ । बैंकले वित्तीय चेतनाका लागि सामाजिक सञ्जालमा राखेको सूचनामार्फत सो जानकारी गराएको छ ।

वित्तीय ग्राहक संरक्षण इकाइले अनलाइन पोर्टल, टेलिफोन, इमेल, हेलो सरकारका सार्थ लिखित निवेदन र कार्यालयमै आएर दर्ता गराएका निवेदनमार्फत ग्राहकका गुनासो र विभिन्न समस्या, प्रश्न, जिज्ञासा, सुझावहरूको सम्बोधन गरिएको बैंकले जनाएको छ ।

कूल निवेदनमध्ये ७४ प्रतिशत अनलाइन पोर्टलमार्फत प्राप्त भएको जनाएको बैंकले १६ प्रतिशत टेलिफोन, इमेल, हेलो सरकारको माध्यमबाट र १० प्रतिशत लिखित निवेदन प्राप्त भएको बैंकले जानकारी गराएको सूचनामा उल्लेख छ ।