कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन


काठमाडौं – माछापुच्छ्रे बैंकले मंगलबार कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ। मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो। आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्याे। माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे।

निशेषले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। विभवको इनिङमा समान एक चौका र छक्का रह्यो। आइसिएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। त्यसअघि आइसिएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो।

आइसिएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे। अरविन्दको इनिङमा चार चौका र दुई छक्का थियो। माछापुच्छ्रेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेन। प्लेअर अफ दी फाइनल माछापुच्छ्रेका निशेष केसी चयन भए। यस सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आइसिएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाए। प्लेयर अफ दी टुर्नामेन्टमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए।

त्यस्तै बेस्ट बलरमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुबेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रे निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए। सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआइसी एसियाका अमर रावल र फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्यो। प्रतियोगिताको बैंकिक पार्टनर एनआइसी एसिया छ। विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ ९क्यान० का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे। सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको सातौं सिजनमा मंगलबार क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल भएको हो।