ऋणीलाई दिएको ऋण सञ्चालकले गरे प्रयोग, १० लाख जरिवाना

ऋणीलाई दिएको ऋण सञ्चालकले गरे प्रयोग, १० लाख जरिवाना

राष्ट्र बैंकद्धारा लक्ष्मी सनराइज बैंक कारबाहीमा


काठमाडौं– लक्ष्मी सनराइज बैंक लिमिटेडका एक सञ्चालकले ऋणीलाई दिएको ऋण आफैले प्रयोग गरेको पाइएको छ । तत्कालिन लक्ष्मी बैंक लिमिटेडका १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको ऋण आफुले प्रयोग गरेको खुलेको हो ।

बैंकले झुनझुनवालालाई प्रवाह गरेको रु.१२ करोड कर्जा मध्ये रु. ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी गरेको पाइएको छ । यसो गर्नु नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं ६/८० को बुँदा ८ (ख) मा भएको व्यवस्था उल्लङ्घन भएको देखिन आएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०० को उपदफा (२) बमोजिम राजेन्द्र कुमार खेतानलाई रु.१० लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, लक्ष्मी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको बैंकले जनाएको छ । बैंकबाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन नगरेको भन्दै सीईओलाई सचेत गराएको हो ।